काठमाडौं,९ भदौ । नेकपा एमालेको आगामी केन्द्रीय कमिटी बैठक र विधान महाधिवेशनलाई लक्षित गर्दै विद्या भण्डारी पक्षमा रहेका नेताहरूले छुट्टै प्रतिवेदन ल्याउने तयारी गरेका छन्।
अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण रोक्नुभएको निर्णयलाई अन्यायपूर्ण ठहर गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे नेतृत्वमा फरक प्रतिवेदन तयार पारिँदैछ। यी नेताहरूले ओलीले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई कमजोर बनाउने गतिविधि गरेको आरोपसमेत प्रतिवेदनमा समेट्ने तयारी गरेका छन्।
भदौ १३ गते बस्ने केन्द्रीय कमिटी बैठकमा भण्डारी पक्षले यस विषय उठाउने छ। ‘ईश्वर पोखरेलको नेतृत्वमा फरक प्रतिवेदन जान्छ, बैठकमै उहाँले प्रस्तुत गर्नुहुन्छ,’ एक नेताले भने।
भण्डारीले च्यासलको ढोका बन्द भएपछि थापागाउँमा सम्पर्क कार्यालय खोलेर राजनीतिक गतिविधि अघि बढाएकी छन्। भदौ ५ गते उद्घाटन गरिएको उक्त कार्यालयमा उत्साहजनक सहभागिता भएको दाबी भण्डारी पक्षको छ।
केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनका लागि प्रदेश र जिल्लाबाट प्राप्त सुझाव परिमार्जन गरेर पास गर्ने तयारी गरेको उपाध्यक्ष गुरु बरालले जानकारी दिए। उनले भने, ‘भदौ १० गतेसम्म प्राप्त सुझावहरू अब बस्ने बैठकमा पेस गरेर विधान महाधिवेशनमा लैजानेछौं।’
भण्डारी पक्षले विधानमा ७० वर्ष उमेर हद र दुई कार्यकालको प्रावधान राख्नुपर्ने अडान लिएको छ। तर साउन ६ गतेको केन्द्रीय कमिटी बैठकले उक्त प्रावधान हटाउने निर्णय गरिसकेको छ। भण्डारी पक्षले विधान महाधिवेशनबाट फेरि सो प्रावधान समावेश गर्न सकिने विश्वास राखेको छ।
यसबीच, अध्यक्ष ओलीले पार्टी एकताबद्ध हुनुपर्ने बताउँदै भण्डारीले असन्तुष्ट समूहलाई भेला गरेर समस्या खडा गरेको आरोप लगाएका छन्। ओलीले भण्डारीको सदस्यता नवीकरण नहुने प्रस्ट पार्दै भने, ‘तपाईंसँग सदस्यता नै छैन भने कहाँबाट नवीकरण हुन्छ? उहाँले २०७२ सालमै सदस्यता छाड्नुभएको हो।’
ओली पक्षले भण्डारीलाई पार्टी फर्केर समस्या सिर्जना नगर्न आग्रह गरेको भए पनि भण्डारी पक्ष विधान महाधिवेशनसम्म छुट्टै दस्तावेज ल्याएर विचार प्रस्तुत गर्ने तयारीमा छ।

