काठमाडौँ,८ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै दिएको अभिव्यक्तिले फेरि विवाद र बहसलाई जन्म दिएको छ। प्रचण्डले सार्वजनिक कार्यक्रममा आफू नभए मुलुक खत्तम हुने अवस्था आउँछ कि भन्ने चिन्ता लागेको बताएपछि राजनीतिक वृत्तमा आलोचना चर्किएको हो।
उनको अभिव्यक्ति बाह्य दलका नेता मात्र होइन, आफ्नै पार्टीभित्र पनि असन्तोषको कारण बनेको छ। माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रचण्डको भनाइलाई प्रत्यक्ष चुनौती दिँदै प्रतिक्रिया दिएका छन्। शर्माले सामाजिक सञ्जालमार्फत भने, “शेष नागले काँध फेर्दैमा पृथ्वी नहल्लिने।”
यो टिप्पणीले माओवादी केन्द्रभित्र लामो समयदेखि मौलाइरहेको नेतृत्व विवादलाई झनै सतहमा ल्याएको छ। प्रचण्डले लामो समयदेखि पार्टीको शीर्ष नेतृत्व सम्हालिरहेका छन्। उनले आफू देश र जनताका लागि सक्रिय रहेको दाबी गर्दै, “म नभए देश गर्ल्यामगुर्लुम हुन्छ कि भन्ने लाग्छ,” भनेका थिए।
प्रचण्डको अभिव्यक्तिपछि सत्तारुढ दल काँग्रेसका नेता मिनेन्द्र रिजालले पनि व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिए। उनले भने, “सारा पृथ्वी बोकेको जस्तो, नेताहरू गोलमाल हुने ठाउँमा बसिरहनुहुन्छ।”
प्रचण्ड अतीतमा पनि आफ्नै अभिव्यक्तिका कारण विवादमा पर्ने गरेका छन्। माओवादी युद्ध कालका घटनाबारे सर्वोच्च अदालतसम्म मुद्दा खेपेका उनले भावुक वक्तव्य दिने बानी यथावत् राखेका छन्। तर, यस पटकको अभिव्यक्ति नेतृत्वमा लामो समयसम्म रहन चाहेको सङ्केत हो कि वास्तविक चिन्ता भन्ने प्रश्न बहसको विषय बनेको छ।
विश्लेषकहरूका अनुसार, प्रचण्ड–जनार्दन वाक युद्धले माओवादी केन्द्रभित्रको आन्तरिक राजनीति फेरि तातो भएको सङ्केत गरेको छ।

