राष्ट्रपति पौडेलसँग बन्धक विपिन जोशीका आमा र बहिनीको भेट

Categories:

-

काठमाडौं,८ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले भेट गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उनीहरूले विपिनको सुरक्षित रिहाइका लागि राष्ट्रपतिलाई सक्दो पहल गर्न आग्रह गरे।

यसअघि हिजो परिवारजनले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। प्रधानमन्त्रीसँगको भेटमा ओलीले विपिनको मुक्तिका लागि सरकार सक्रिय रहेको आश्वासन दिएका थिए।

पद्मा र पुष्पा जोशी हालै इजरायल पुगेका थिए। त्यहाँ उनीहरूले इजरायलका राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरूसँग भेट गरी विपिनलाई सक्दो छिटो मुक्त गर्न आग्रह गरेका थिए। उक्त भेटपछि उनीहरू केही दिनअघि स्वदेश फर्किएका हुन्।

गत असोजमा हमासले इजरायलमा आक्रमण गर्दा नेपाली विद्यार्थीहरू समेत मारिएका थिए भने विपिन जोशी बन्धक बनेका थिए। त्यसयता नेपाल सरकारले इजरायलसँग समन्वय गर्दै कूटनीतिक पहल जारी राखेको जनाएको छ।

विपिनको परिवारले अन्तर्राष्ट्रिय समुदायलाई समेत अपील गर्दै आएको छ। राष्ट्रपति पौडेलसँगको भेटपछि आमा पद्माले भनिन्, “राष्ट्रपतिले विपिनलाई मुक्त गर्न प्रयास गर्ने आश्वासन दिनुभएको छ।”

सरकारले बन्धक मुक्तिका लागि विभिन्न कूटनीतिक माध्यममार्फत प्रयास जारी राखेको जनाएको छ तर अझै परिणाम आएको छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य