नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पा निर्वाचित

Categories:

-

काठमाडौं,८ भदौ । नेपाल पर्वतारोहण संघ (एनएमए)को नयाँ नेतृत्व चयन गरिएको छ। शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित भएका छन्। उनले नजिकैका प्रतिद्वन्द्वी कुलबहादुर गुरुङलाई पराजित गर्दै अध्यक्ष पद जितेका हुन्।

निर्वाचन समितिका अनुसार शेर्पाले तीन सय बयालिस (३४२) मत प्राप्त गरे भने गुरुङले दुई सय अठासी (२८८) मत पाए। मतगणना शनिबार बिहान सम्पन्न भएको हो।

सात हजारभन्दा बढी सदस्य रहेको एनएमए नेपालको पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था हो। यो संस्थाले हिमाल आरोहण अनुमति, पर्वतारोहण सुरक्षा, तालिम र हिमाल आरोहणसम्बन्धी नीतिगत परामर्श दिने कार्य गर्दै आएको छ।

नयाँ नेतृत्व चयनसँगै एनएमएको कार्यसमिति पनि गठन गरिएको छ। वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा र द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी निर्वाचित भएका छन्। महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् भने सचिवमा चन्दन थापाले जितेका छन्।

कोषाध्यक्ष पदमा भने ङिमा नुर्बु शेर्पा र सुमी लामाबीच बराबरी मत आएको निर्वाचन समितिले जनाएको छ। दुवै उम्मेदवारले समान मत पाएपछि निर्णयका लागि निर्वाचन समितिको अन्तिम बैठक बस्ने बताइएको छ।

त्यसैगरी, कार्यसमिति सदस्यतर्फ माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे निर्वाचित भएका छन्।

निर्वाचनमा उच्च प्रतिस्पर्धा भए पनि परिणामलाई सबै पक्षले स्वीकार गरेका छन्। अध्यक्षमा निर्वाचित भएका शेर्पाले संघलाई पारदर्शी, पेशागत र व्यवसायमैत्री बनाउन प्राथमिकता दिने बताएका छन्। उनले पर्वतीय पर्यटनको प्रवर्द्धन, आरोहीहरूको सुरक्षा र वातावरण संरक्षणलाई मुख्य एजेन्डा बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

नेपाल पर्वतारोहण संघको नयाँ नेतृत्व चयनसँगै अब आगामी कार्यकालका लागि योजनाहरू अघि बढाइने छन्। एनएमए नेपालका हिमालहरूको प्रबर्द्धन र आरोहण व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने निकाय मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य