काठमाडौं, ६ भदौ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीमाथि आक्रोश व्यक्त गरेका छन्। पार्टी प्रवेश कार्यक्रमलाई शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा सम्बोधन गर्दै ओलीले भण्डारीले थापागाउँमा सम्पर्क कार्यालय खोलेको विषयमा टिप्पणी गरेका हुन्।
ओलीले भने, ‘दुई पटक पार्टीले उहाँलाई राष्ट्रपति बनायो, तर फर्केर आएपछि पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्ने कुरा हामीले कल्पना पनि गरेका थिएनौँ। पार्टी एकतामा बल पुर्याउनुपर्ने हो, तर उहाँ असन्तुष्टहरू भेला गर्दै हिँडिरहनु भएको छ।’
उनका अनुसार पार्टीभित्र सधैं असन्तुष्ट रहने र जनसंगठनको चुनावमा पराजित भएका नेताहरूलाई भेला गर्दै सम्पर्क कार्यालय खोलिएको छ। ओलीले व्यंग्य गर्दै भने, ‘अर्को वर्ष मदन भण्डारीको जन्मदिन मनाउनको लागि अहिले नै सम्पर्क कार्यालय खोल्नुपर्छ? यत्रो ठूलो आन्दोलनमा यस्ता कुरा कहिलेकाहीँ हुन्छन्।’
पूर्वराष्ट्रपति भण्डारीले बिहीबार थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन गरेकी थिइन्। उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष द्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीसहित अन्य नेताहरू सहभागी भएका थिए।

