क्याम्पसबाट हिमालसम्म: पीएचडी गर्दै गरेका गुरुङ एनएमएको अध्यक्षमा उम्मेदवार

Categories:

-

लेखक: आशिष गुरागाई

काठमाडौं,६ भदौ । नेपालको पर्वतीय पर्यटन क्षेत्रमा लामो समयदेखि क्रियाशील कुलबहादुर गुरुङ नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्ष पदका लागि उम्मेदवार भएका छन्। मलेसियाको लिंकन विश्वविद्यालयबाट पर्वतीय पर्यटन विषयमा विद्यावारिधि गरिरहेका गुरुङ शनिबार हुन लागेको संघीय चुनावमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

‘हिमाल हाम्रो गौरव, नेतृत्व हाम्रो पहिचान! सशक्त संघ, दिगो पर्वतीय पर्यटन!’ नारासहित गुरुङले बिहीबार एलिस रिसेप्सनमा भव्य कार्यक्रममा आफ्नो समूहलाई परिचित गराएका थिए। उनले आफ्नो समूहमा पर्यटन क्षेत्रमा लामो समयदेखि काम गरेका अनुभवी र सक्षम उम्मेदवार रहेका कारण चुनाव जित निश्चित भएको दाबी गरे।

गुरुङ सन् १९९२ देखि नेपालको पर्वतीय पर्यटन क्षेत्रमा सक्रिय छन्। एनएमएको सफल महासचिव रहिसकेका उनी ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान)मा उपाध्यक्ष समेत भइसकेका छन्। विश्व पर्वतारोहण महासंघ र अन्य थुप्रै पर्यटन संस्थासँग संलग्न उनी व्यवसायिक मात्र नभई बौद्धिक र प्राज्ञिक व्यक्तित्वको रूपमा पनि परिचित छन्।

गुरुङले पर्वतीय पर्यटन क्षेत्रको दिगो विकासका लागि विभिन्न एजेन्डा अघि सारेका छन्। उनले आरोहण फोहोर व्यवस्थापन, धरौटी रकम फिर्ता गर्ने प्रणाली सुधार, गाइड र शेर्पा तथा उच्च हिमाली श्रमिकका लागि तालिम, बीमा, स्वास्थ्य र सामाजिक सुरक्षा सुनिश्चित गर्ने योजनाको घोषणा गरेका छन्।

साथै, हिमाल आरोहण क्रममा दिवंगत श्रमिक परिवारका लागि विशेष पेन्सन, अक्षयकोष, छात्रवृत्ति, व्यावसायिक तालिम र आयस्रोतमुखी सीप विकास कार्यक्रम लागू गर्ने योजना रहेको गुरुङले बताए। पर्वतारोहण तालिम प्रतिष्ठान र अनुसन्धान केन्द्र, मनाङ पर्वतारोहण तालिम विद्यालय, अन्नपूर्ण उद्धार केन्द्र र ककनी अन्तर्राष्ट्रिय पर्वतारोहण स्मृति पार्कको स्तरोन्नति गर्ने पनि उनका लक्ष्यमा छन्।

उनले महिला पर्वतारोहण पहल, युवाका लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति तथा विशेष सीप विकास कार्यक्रम सञ्चालन गर्ने र स्थानीय सरकारसँग सहकार्यमा पूर्वाधार विकास गर्ने योजना राखेका छन्। साथै, नेपालका हिमाललाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्दै वार्षिक हिमाल महोत्सव आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गुरुङ समूहको वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विमलकुमार नहर्की, सचिवमा डिमा दिकी शेर्पा र कोषाध्यक्षमा सुमी लामाले उम्मेदवारी दिएका छन्। सदस्यतर्फ पुस्कर शाह, बलबहादुर सुयल, माधवप्रसाद पाण्डे, हरिगोपाल प्रधान, सुदांश लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा, पासाङ शेर्पा र अशोककुमार तामाङ रहेका छन्।

गुरुङको उम्मेदवारीले नेपाल पर्वतीय पर्यटन क्षेत्रमा व्यावसायिकता, दक्षता र दिगोपन ल्याउने अपेक्षा गरिएको छ। उनका योजनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको हिमाल र पर्वतीय पर्यटनलाई थप प्रतिस्पर्धी र परिचित बनाउने विश्वास विशेषज्ञ र पर्यटनकर्मीहरूमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य