च्यासलले ढोका बन्द गरेपछि , विद्यादेवीले खोलिन् छुट्टै शक्ति केन्द्र!

-

काठमाडौं,६ भदौ  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले केन्द्रीय कार्यालय च्यासलले सदस्यता नवीकरण नगरेपछि थापागाउँमा छुट्टै सम्पर्क कार्यालय खोलेकी छन्। उनले उक्त कार्यालयलाई “मदन भण्डारी ७५ औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति” को नाम दिएकी छिन्। बिहीबार उक्त कार्यालय उद्घाटन गर्दै भण्डारीले आफू अझै एमालेको राजनीतिमा सक्रिय रहने स्पष्ट पारिन्।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेसहित १० जना केन्द्रीय सदस्य उपस्थित थिए। पोखरेलले उद्घाटनमा बोल्दै पार्टीभित्र जनताको बहुदलीय जनवाद (जबज) मास्ने प्रयास भइरहेको आरोप लगाए। उनले भने, “जबज सलल चलेको विचार होइन, प्रतिकूल परिस्थितिसँग लडेर आएको हो। अहिले यसको रक्षा गर्न आवश्यक छ।”

च्यासलस्थित तुल्सीलाल स्मृति भवनबाट भण्डारीको सदस्यता नवीकरण रोकेपछि उनले छुट्टै कार्यालय खोल्ने निर्णय लिएको बुझिएको छ। ओलीले असार १४ गते ७४ औँ मदन जयन्तीमा जबज महाधिवेशनको सामूहिक अवधारणा रहेको बताएका थिए। त्यसको ५२ दिनपछि पोखरेलले ओलीको भनाइ खण्डन गर्दै जबजलाई गहिरो वैचारिक आधारमा बनेको विचार बताए।

भण्डारीले पनि आफ्नो सम्बोधनमा तीन कुरा प्रष्ट पारिन् आफू एमालेकै उपाध्यक्ष भएको, पार्टीभित्र विकृति विसंगतिविरुद्ध लडिरहने र जबज अनुसार एमाले काम गर्न नसकेको गुनासो जनाइन्। उनले भनिन्, “म सदस्य हुँ, सिद्धान्तको आधारमा निरन्तर काम गर्छु। तर च्यासलले मेरो संगठित सदस्यतामै प्रश्न उठाएको छ।”

उनले ४५ वर्षदेखि पार्टीमा क्रियाशील रहेको स्मरण गर्दै वर्तमान नेतृत्वले जबजको मर्म विपरीत काम गरिरहेको टिप्पणी गरिन्। नेपाली कांग्रेस–एमाले मिलेर सरकार चलाउँदा पनि जनतामा सकारात्मक असर नपरेको उनको भनाइ थियो। उनले अर्थतन्त्र कमजोर, आयातमा निर्भरता र वैदेशिक ऋण बढेको उल्लेख गर्दै संसद निरीह भएको आरोपसमेत लगाइन्।

भण्डारी नजिकका नेताहरूका अनुसार प्रधानमन्त्री ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारालाई वैचारिक रूप दिन खोजेपछि भण्डारीले जबजको रक्षा गर्न सक्रियता बढाएकी हुन्। एमालेभित्र जबज र नेतृत्व हस्तान्तरणबारे विवाद चर्कँदै गएको संकेत यस घटनाले स्पष्ट देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य