गगन थापा : ‘संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन’

Categories:

-

काठमाडौं,४ भदौ  । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसदमा बहुमत रहेको भन्दै मनपरी निर्णय गर्न नहुने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन समारोहलाई सम्बोधन गर्दै उनले प्रजातन्त्रमा संख्याले कानुनी वैधानिकता त दिन सक्ने तर जनताको स्वीकार्यता बिना त्यसलाई वैध ठहरिन नसक्ने प्रष्ट पारे।

‘नेपाली कांग्रेस राष्ट्रिय शक्ति हो। हामी चुनाव जित्छौं, मत पाउँछौं, सरकार बनाउँछौं। बहुमतपछि निर्णय वैधानिक हुन्छ, तर संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन। आमनागरिकले त्यसलाई स्वीकार्छन् कि स्वीकार्दैनन् भन्ने महत्त्वपूर्ण हुन्छ,’ उनले भने।

थापाले मंगलबार भएको पार्टी पदाधिकारी बैठकमा पनि यस्तै चेतावनी दिएका थिए। उक्त बैठकमा सभापति शेरबहादुर देउवाले उपसभामुख इन्दिरा रानामगरलाई पदीय आचरणविपरीत काम गरेको भन्दै हटाउने विषयमा छलफल गरेका थिए। यसबारे थापाले पुनः असन्तुष्टि जनाउँदै ‘दुई तिहाइ पुगेपछि कानुनी वैधानिकता त प्राप्त होला, तर त्यसलाई आममानिसले स्वीकार्छन् भन्ने ग्यारेन्टी छैन,’ बताएका थिए।

कांग्रेस र नेकपा एमालेले उपसभामुखलाई हटाउनकै लागि सांसदहरूसँग खाली कागजमा हस्ताक्षरसमेत गराइसकेका छन्। तर कांग्रेसभित्र शेखर कोइराला समूहले भने यसलाई अस्वीकार गर्दै हस्ताक्षर गरेको छैन। यसले कांग्रेसभित्रको आन्तरिक मतभेद झन् तीव्र भएको देखिएको छ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवा मिलेर बनाएको राजनीतिक संयन्त्रप्रति पनि गगन थापा असन्तुष्ट देखिएका छन्। पछिल्लो समय उनी संयन्त्रका बैठकमा उपस्थित हुन छाडेका छन्। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्र बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकमात्र सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य