काठमाडौं,४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा मंगलबार बसेको प्रतिपक्षी दलहरूको बैठकले सत्तारूढ नेपाली काँग्रेस र नेकपा (एमाले) ले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन गरेको तयारी असफल बनाउने निर्णय गरेको छ।
काँग्रेस र एमालेले उपसभामुखको आचरणमाथि प्रश्न उठाउँदै उनलाई हटाउने प्रक्रिया अघि बढाएका छन्। मंगलबार दुवै दलले आफ्ना सांसदहरूबाट हस्ताक्षर संकलन गरेका थिए भने सरकारभित्र र बाहिर रहेका साना दलहरूसँग समर्थन जुटाउने प्रयाससमेत गरेका थिए।
उपसभामुख राना मगरले गत वर्ष अमेरिकी दूतावासलाई भिजिट भिसासम्बन्धी अन्तर्वार्ताको समय सारिदिन आफ्नै लेटरप्याडमा पत्र पठाएको विषय सार्वजनिक भएपछि उनको आचरणमाथि विवाद उठेको हो।
सत्तापक्षले हटाउने तयारी गरिरहेका बेला विपक्षी दलहरूले भने प्रतिवाद गरेका छन्। संवैधानिक परिषदमा ६ सदस्यीय संरचनामा उपसभामुख पनि रहने प्रावधान छ। परिषद्मा सत्ता र प्रतिपक्षबीच मत बराबर रहेकाले निर्वाचन आयोगसहितका संवैधानिक अंगमा नियुक्ति हुन नसकेको अवस्थामा उपसभामुख हटाउने प्रयत्न भएको विपक्षीहरूको भनाइ छ।
बैठकपछि माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले काँग्रेस र एमालेले आफ्ना सांसदहरूलाई “खाली कागजमा हस्ताक्षर गर्न लगाएको” भन्दै यस्तो कदम निरंकुशता झल्काउने बताउनुभयो। उनले भने, “यस्ता कदमहरूले देशलाई गम्भीर संकटतर्फ धकेलिरहेको छ।”
मंगलबारको बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी सहभागी भए। तर, नाउपा र जसपा नेपाल भने सत्तापक्षीय छलफलमा सहभागी भएका थिए।

