काठमाडौँ, २ भदौ ।काठमाडौँको बुढानिलकण्ठमा स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
दुर्घटनामा सिराहाको जम्दह–४ निवासी २९ वर्षीय भोला थापा र नाम ठेगाना नखुलेका करिब ३५ वर्षीय युवकको मृत्यु भएको हो। उनीहरूको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको प्रहरीले जनाएको छ।
गएराति पौने २ बजेतिर बुढानिलकण्ठ नगरपालिका–७ स्पेसलचोकमा गोल्फुटारतर्फ जाँदै गरेको स्कुटर (प्रदेश ३–०२–००२ प ५७२) र नारायणस्थानतर्फ जाँदै गरेको स्कुटर (बागमती प्रदेश ०२–०४१ प ६८१९) आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गोरखाको आरुपोखरी घर भई हाल बुढानिलकण्ठ–८ भंगाल बस्दै आएका २४ वर्षीय एरिक परियार, नाम ठेगाना नखुलेका करिब २८ वर्षीय युवक र करिब ३० वर्षीय युवक घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
गम्भीर घाइतेमध्ये एक युवकले कालो ट्याक र निलो टिसर्ट लगाएका थिए भने अर्काले खैरो बक्स पाइन्ट र सेतो ट्याक लगाएका थिए। करिब ३० वर्षीय मङ्गोलियन अनुहार भएका युवकका आफन्त हालसम्म सम्पर्कमा आएका छैनन्।
घटनापछि प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी सहायक निरीक्षक सुवर्ण प्याकुरेलको नेतृत्वमा गएको टोलीले घाइतेलाई अस्पताल पुर्याएको हो। दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

