अखर्च्याइंदो

लेखक: गणेश लम्साल
ठेगाना: सुकेधार, काठमाडौँ
शैली: लघुकथा
प्रकाशन मिति: ३१ श्रावण २०८२, शनिवार
पिं पिं! पिं पिं………..!!!
साइलेन्सर फुटेको स्कुटि धुं धुं पार्दै र मर्न बसेको हर्न बजाउंदै छिमेकि बा आइपुग्नु भो चिया पशलमा! हामि २-४ भाइ चियाको चुस्कि संगै गफिदै थियौं!
बा को उहि चिर परिचित स्कुटि!! खोल भत्किएर साइकल जस्तो देखिने! ब्रेक त बा को उहिलै बिग्रीएको! २ सय मिटर परै बाट एक्सिलरेटर दबाउन छोड्नु हुन्थ्यो बा र कहिं गएर २ सय मिटर पछि रोकिन्थ्यो! बा को स्कुटि देख्ने बित्तिकै मान्छे छेउ लाग्थे! गाउंका सबैलाइ थाहा थियो नै ब्रेकको बारेमा!!
जाने बुझे सम्म बा को स्कुटि २०-२१ बर्ष पुरानो थियो। सुरु सुरुमा त बा रेगुलर सर्भिसिङ गराउनु हुन्थ्यो! तर बुढो हुदै गएपछि बा ले सर्भिसिङ गराउन छोड्दिनु भयो! कुदनै छोडेपछि भने लग्नु हुन्थ्यो तर मेकानिक ले पनि पैसा लिन छोड्दियाथ्यो!
“बा अब त नया लिए हुन्न??” मैले स्कुटि तिर हेर्दै बा लाइ सुझाब दिने कोशिस गरें!
“जान्ने!! खुब जान्ने!! तेरो टाउकाको कुन पाटो दुख्यो??” बा म संग नराम्रो संग जङ्गिनु भो!
“होइन बा! मैले त हजुरलाइनै सजिलो होस भनेर पो त!! यो सार्है थोत्रो भो, ब्रेकपनि लाग्दैन! बुढेसकालमा एक्सिडेन्ट भयो भने दुख पाउनु हुन्छ भन्ने लागेर भन्या हुं! छोराहरु पनि नया किन्दिने थियौं बा ले माने त भन्दै थिए!”
“हुन्छन नि ति बाठा!! तिनलाइ केहि थाहा छैन अनि जे बोले पनि भो!! तिनका कुरा सुनेर मलाइ उराल्ने?? ज्यान गए फेर्दिन!”
“किन र बा??” मलाइ किन किन बा का कुरा रहस्यात्मक लागे!
“यो स्कुटि मैले डेड कठ्ठा जग्गा बेचेर किनेको हुं!! अहिले त्यो जग्गाको दाम सवा करोड छ!!”

