बागमतीमा मन्त्रिपरिषद् विस्तार : बहादुर पक्षका मान्छे बाटैबाट रेटिए

-

काठमाडौं, ३० साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्दै आफ्नै दल नेपाली कांग्रेसका पाँच नयाँ मन्त्री नियुक्त गरेका छन्। २० साउनमा आफूसहित आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका बानियाँले दोस्रो चरणको विस्तारसँगै १४ सदस्यीय मन्त्रिपरिषद् पूर्णता पाएको हो।

नवनियुक्त मन्त्रीहरूमा काभ्रेका कञ्चनचन्द्र बादे (सामाजिक विकास), रसुवाका प्रभात तामाङ (आर्थिक मामिला तथा योजना), ललितपुरकी उर्मिला केसी नेपाल (युवा तथा खेलकुद), भक्तपुरका सुरेश श्रेष्ठ (संस्कृति तथा पर्यटन) र चितवनकी बिनु रायमाझी पौंडेल (सहकारी तथा गरिबी निवारण) रहेका छन्। यसअघि खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा कृष्ण तामाङ र बिनाविभागीय मन्त्री बनेका शिवराज अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

२० साउनमै नेकपा एमालेतर्फबाट मधुसुदन पौंडेल (कृषि तथा पशुपन्छी विकास), डा. दिनेशचन्द्र देवकोटा (भौतिक पूर्वाधार विकास), भरत केसी (वन तथा वातावरण), जयरथ थापा (श्रम, रोजगार तथा यातायात) र बिन्दु श्रेष्ठ (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन) मन्त्री बनिसकेका थिए।

यद्यपि, मन्त्रिपरिषद् विस्तार कांग्रेसभित्र विवादरहित भएन। निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री बनाउने सहमति भएको दाबी गरिँदै आएको थियो। तर अन्तिम समयमा मुख्यमन्त्री बानियाँले ती सांसदलाई समेटेनन्। यसले लामा पक्षका मान्छे ‘बाटैबाट रेटिएका’ भन्दै असन्तोष चर्किएको छ।

लामा पक्षले १४ साउनमा मन्त्री नियुक्त भएर पनि सपथ लिन नपाएका आफ्ना ३ सांसदलाई मन्त्रीमा समेटिनुपर्ने अडान राख्दै आएको थियो। २७ साउनमा विश्वासको मत दिनुअघि पनि केन्द्रीय नेतृत्वको प्रतिवद्धतामा भर परेर समर्थन गरेको लामा पक्ष अहिले बानियाँप्रति खुलेर असन्तुष्ट बनेको छ।

बानियाँ गत ९ साउनमा २१ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरी लामालाई पदबाट हटाउने प्रक्रियामा अगाडि बढेका थिए। १३ साउनमा लामा अल्पमतमा परेपछि पद गुमाएका थिए। २० साउनमा कांग्रेस–एमालेको समर्थनमा बानियाँ मुख्यमन्त्री बनेका थिए।

दलभित्रको शक्ति सन्तुलनका बीच गरिएको यो विस्तारले कांग्रेस बागमतीभित्रको आन्तरिक द्वन्द्वलाई अझ गहिरो बनाएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य