13.1 C
Kathmandu

राष्ट्रपति पौडेलले आनाकानी गरेपछि प्रधानमन्त्री तयार

-

काठमाडौँ, ३० साउन । राष्ट्रपति रामचन्द्र पौडेलले चीनमा हुने सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन अस्वीकार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली उक्त सम्मेलनमा जान लागेका छन्।

उच्च स्रोतका अनुसार राष्ट्रपति पौडेलले चाहना हुँदाहुँदै पनि आफ्ना सल्लाहकारहरूको सुझावमा चीन भ्रमण नगर्ने निर्णय गरेका हुन्। सल्लाहकार टोलीले सुरु देखिनै उनलाई चीनसँग दूरीमा राख्ने प्रयास गर्दै आएको र त्यसकै निरन्तरतामा एससीओमा नगएकाे दाबी छ। पौडेलले यसअघि पनि चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) र सैन्य मार्चमा सहभागी हुन अस्वीकार गरेका थिए।

राष्ट्रपति पौडेलले निम्ता अस्वीकार गरेपछि करिब १५ दिनअघि चीनले प्रधानमन्त्री ओलीलाई औपचारिक निम्ता पठाएको हो। ओलीले भ्रमणमा जानुको मुख्य कारण राष्ट्रपति सी चिनफिङसँगको भेट सुनिश्चित हुनु हो। सीसँग भेट नपाउने अवस्था भए भ्रमण नगर्ने सन्देश ओलीले पहिले नै पठाएको स्रोतको भनाइ छ। चिनियाँ पक्षले १८ भदौमा सी–ओली भेटको तालिका तय गरेको छ।

प्रधानमन्त्री ओली १४ भदौमा चीन पुग्नेछन्। उनले चीन भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्नेछन्। मोदीसँगको भेट चीनपछि हुने भारत भ्रमणलाई अर्थपूर्ण बनाउने ओलीको बुझाइ छ। यसलाई उनले भारतसँगको सम्बन्ध सहज बनाउने अवसरका रूपमा हेरेका छन्।

एससीओको पाँचौँ पटक चीनमा हुने शिखर सम्मेलन १५–१६ भदौमा आयोजना हुँदैछ। यसअघि सम्मेलन कजाखस्तानमा भएको थियो। विभिन्न मुलुकका कार्यकारी प्रमुख सहभागी हुने र द्विपक्षीय भेटवार्ताका अवसरहरू रहने भएकाले ओलीको सहभागिता कूटनीतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ।

नेपाल एससीओको स्थापनाकालदेखि नै सम्बन्धमा रहे पनि केवल “डायलग पार्टनर” को भूमिकामा सीमित छ। चीनको पहलमा स्थापनामा रुस, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तानको भूमिका रह्यो। पछि इरान (२०२३) र बेलारुस (२०२४) सदस्य भए। अफगानिस्तान र मंगोलिया पर्यवेक्षक छन्।

नेपालभन्दा पछि जोडिएका कतिपय मुलुक सदस्य भइसकेका छन्, तर नेपाल अझै सदस्य बन्न सकेको छैन। स्थापनाकालमा भारतले नेपाललाई एससीओमा प्रवेश गर्न नदिन प्रयास गरे पनि तत्कालीन प्रधानमन्त्री गिरिराजप्रसाद कोइरालाले त्यसलाई बेवास्ता गर्दै सम्बन्ध स्थापना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य