13.1 C
Kathmandu

भदौ २ देखि भण्डारी देश दौडाहमा निस्कने

-

काठमाडौँ,३० साउन । पूर्वराष्ट्रपति विद्या भण्डारीले भदौ २ गते कोसी प्रदेशबाट देश दौडाह सुरु गर्ने भएकी छन्। कोसीका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागी भएपछि उनी भदौ १४ गते मधेस प्रदेश जाने कार्य तालिका रहेको निकट नेताहरूले जनाएका छन्। विधान महाधिवेशन (भदौ २०–२२) नजिकिँदै गर्दा हुने यो भ्रमणलाई एमालेभित्रको वर्तमान विवादसँग जोडेर हेरिएको छ।

एमाले केन्द्रीय कमिटीले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि प्रदेश तहमा असन्तोष चर्किएको छ। कोसी प्रदेश कमिटीको बैठकमा मङ्गलवार ४० सदस्यले धारणा राख्दा धेरैले निर्णय सच्याउन माग गरेका थिए। डिबी कार्की, रोशन बस्नेत, अन्जु पाण्डेसहितका नेताले सदस्यता नदिने गलत निर्णय तत्काल सच्याउनुपर्ने चेतावनी दिएका छन्। भोजपुर अध्यक्ष मकर खड्काले समस्या टुङ्ग्याएन भने मिशन ८४ मा गम्भीर असर पर्ने बताएका छन्।

तर खड्ग राई, होम थापा, निर्मला शिवाकोटी, मातृका भट्टराईजस्ता नेताले पूर्वराष्ट्रपतिले गरिमामय पदमा रहेपछि सक्रिय राजनीतिमा आउनुनहुने  धारणा राखेका छन्। बहुमत सदस्य भने शीर्ष नेतृत्वको निर्देशनका कारण मौन बसेका छन्। केही नेताले भण्डारीको पक्षमा बोल्नेहरूलाई धम्की दिने प्रवृत्तिप्रति आपत्ति जनाएका छन्।

यस्तै बागमती प्रदेश बैठकमा पनि धेरै नेताले सदस्यता नवीकरणको पक्षमा दबाब दिएका छन्। सचिवालय सदस्य नरेश खतिवडा र रमेश आचार्यले निर्णयले तल्लो पंक्तिसम्मका कार्यकर्तामा आक्रोश फैलाएको बताएका छन्। काठमाडौँ अध्यक्ष दीपक निरौलाले भण्डारीको पक्षमा बोल्न नदिने नीतिले आन्तरिक लोकतन्त्र कमजोर भएको टिप्पणी गरे। रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले नेतृत्वमा पुस्तान्तरणको मुद्दा सही ढंगले सम्बोधन हुन नसकेको बताए।

महासचिव शङ्कर पोखरेलले भने सदस्यता विवाद केन्द्रीय कमिटीले टुङ्ग्याइसकेको र विधान महाधिवेशनमा पनि छलफल नहुने स्पष्ट पारेका छन्। तर प्रदेश नेताहरूले यसलाई समाधान नगरे पार्टी कमजोर हुने चेतावनी दिइरहेका छन्।

कोसी र मधेस भ्रमणपछि भण्डारी ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा नियमित उपस्थित हुने तयारीमा छिन्। एमालेभित्र चर्किरहेको यो विवाद समाधान नभए आगामी निर्वाचन रणनीतिमा यसको प्रत्यक्ष असर पर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य