काठमाडौं, २७ साउन। २०७३ साल असोज ९ गतेको एमाले केन्द्रीय समितिको बैठकमा केपी शर्मा ओली तर्फ लक्षित गर्दै एउटा गज्जबको प्रस्ताव पेस भयो । त्यो प्रस्ताव बिशेष गरी मदन भण्डारी फाउन्डेशनविरुद्ध लक्षित थियो। त्यसबेला केन्द्रीय सदस्य सूर्य थापा पूर्व प्रधानमन्त्री झलनाथ खनाल समूहमा थिए। त्यसैले उनले ओलीको विरोधका लागि यस्तो प्रस्ताव पेस गरेका थिए ।
जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य सूर्य थापाले लिखित प्रस्ताव राख्दै प्रतिष्ठानहरूमाथि अङ्कुश लगाउन माग गरेका थिए । प्रचार विभाग उपप्रमुख समेत रहेका थापाको प्रस्तावमाथि बैठकमा केही घण्टा छलफल समेत भएको थियो ।
उनको प्रस्तावको समर्थन गर्दै अर्का केन्द्रीय सदस्य खिमलाल भट्टराईले यदि नेताका नाममा प्रतिष्ठानहरू पार्टीका हुन् भने तीनका अध्यक्ष पनि पार्टीले तोक्नुपर्ने बताएका थिए । भट्टराई पनि खनाल समूहमा थिए
पार्टी अध्यक्ष केपी ओलीले भने नेताहरुले गुट नचलाउने हो भने प्रतिष्ठानहरूबाट केही नहुने भन्दै गुटबन्दीको अन्त नेतृत्वबाटै हुनुपर्न जवाफ दिँदै प्रतिष्ठानको बचाउ गरेका थिए ।
थापाले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिने क्रममा प्रतिष्ठानहरूको प्रसङ्ग उठाएका थिए । गुटले प्रतिष्ठान चलाउँदा पार्टीका सम्मानित नेताहरूकै अपमान भइरहेको उनले दाबी थियो । एक केन्द्रीय सदस्यका अनुसार उनले यो भनाई राख्दा त्यो बेला रहेको खनाल समूहमा मुस्कान छाएको थियो ।
तर त्यस बेला प्रतिष्ठानको बचाउमा लागेका ओली यस बेला विरोधमा देखिएका छन् । एमालेका एक नेताका अनुसार यसको मुख्य कारण नै मदन भण्डारी प्रतिष्ठान हो, जसले एमालेका आधा जिन्दगी चल्ने गरेको छ। एउटा सानो कुर्सी राखेर पहिले घर भाडामा लिँदै ओली अध्यक्ष बनाउने कारक तत्त्व पनि मदन भण्डारी प्रतिष्ठान नै भएको एमालेका एक नेता बत्ताउँछन् ।
यस बेला एमालेका अधिकांश जिल्लामा मदन भण्डारी फाउन्डेशनका नाममा पार्टी कार्यालय बनेका छन् । प्रधानमन्त्री ओली सत्ताबाट बाहिरिने हो र ओलीले जस्तै प्रतिष्ठानले पूर्वाग्रह राख्ने हो भने ती जिल्ला कार्यालय हरूबाट एमाले टेबुल कुर्सी बोकेर भाडाको कोठा खोज्दै हिड्नु पर्ने अवस्था आउँछ।
विगतमा माधव नेपाल र झलनाथ खनालले ओलीलाई पेलेर सास फेर्न नसक्ने अवस्था बनाउँदा मदन भण्डारी फाउन्डेशनको नामबाट देश भरी सास लिने ठाउँ बनाएको थियो।
पूर्व राष्ट्रपति विद्या भण्डारीलाई सत्ताको आडमा राजनीतिमा निषेध गरिएपछि सबै भन्दा तारो बनेको छ मदन भण्डारी फाउन्डेशन। तर विगतमा फाउन्डेशन आड लागेर आफू कसरी अध्यक्ष र प्रधानमन्त्री बनेँ भन्ने अनुभव अध्यक्ष ओलीलाई छ। त्यसैले अब ओलीका लागि खतरा बन्दै छ मदन भण्डारी फाउन्डेशन

