प्रेस काउन्सिलको नेतृत्व कांग्रेसलाई , पहिलो महिला अध्यक्ष बाला अधिकारी बन्दै

Categories:

-

काठमाडौँ,२६ साउन  । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नेपाली कांग्रेससम्बद्ध प्रेस युनियनकी नेत्री बाला अधिकारीलाई नियुक्त गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। दुई महिनादेखि नेतृत्वविहीन काउन्सिलमा अधिकारीको नाममा सहमति जुटेपछि सम्भवत: आज मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ।

गत जेठमा बालकृष्ण बस्नेतको कार्यकाल सकिएपछि अध्यक्ष पद रिक्त छ। एमालेको नेतृत्वमा रहेको सञ्चार मन्त्रालयले आफ्ना उम्मेदवार अगाडि सार्ने अपेक्षा भए पनि अन्ततः कांग्रेस निकट अधिकारीको पक्षमा प्रस्ताव क्याबिनेटसम्म पुगेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

यसअघि अखण्ड भण्डारी, बालकृष्ण बस्नेत, गोपाल खनाल, तीर्थ कोइराला र रघु मैनालीको नाम चर्चामा थियो। तर, दिलभुषण पाठक प्रकरणपछि कांग्रेसले काउन्सिलको नेतृत्वलाई प्राथमिकतामा राखेको बताइन्छ।

जानकारहरूका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणादेउवा र उनीहरूका छोरा जयवीरसँग सम्बन्धित समाचारले पनि कांग्रेसलाई काउन्सिलको पदमा अड्डी कस्न प्रेरित गरेको हो। पत्रकार महासंघको हालैको निर्वाचनमा प्रेस युनियनको सहयोगले निर्मला शर्मा अध्यक्ष निर्वाचित भएपछि कांग्रेसको दाबी थप मजबुत भएको छ।

निर्णय भएमा बाला अधिकारी प्रेस काउन्सिलको पहिलो महिला अध्यक्ष बन्नेछिन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य