भैरहवा कारागार निरीक्षण : रवि लामिछानेको कोठामा कार्पेट, सोफा, तर हावा र उज्यालोको अभाव

-

भैरहवा,२६ साउन  । कुनै समय देशको उपप्रधान तथा गृहमन्त्रीको शक्तिशाली पदमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुप्रिम सहकारीको करोडौँ रकम ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। सोमबार राष्ट्रिय मानवअधिकार आयोग र अधिकारकर्मीहरूको टोलीले उनको कारागार–बसाइको निरीक्षण गरेको छ।

निरीक्षण टोलीमा आयोगकी सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली र इन्सेककी रिमा बिसी रहेका थिए। उनीहरूले लामिछानेलाई राखिएको चार नम्बर ब्लकको अवस्था प्रत्यक्ष हेरे।

कोठाको सुविधा र अवस्था
लामिछानेलाई छुट्टै कोठामा राखिएको छ, जसको भुइँमा निलो कार्पेट ओछ्याइएको छ। छोटो ‘लो बेड’, एउटा सोफा, अध्ययनका लागि टेबल–कुर्सी, फलामको ठूलो पंखा र स्ट्यान्ड पंखा व्यवस्था गरिएको छ। रेडियो, किताब र पत्रपत्रिकाको पहुँच पनि पाएका छन्।

कारागार प्रशासनले दिने खाना उनी अन्य कैदीझैँ खाने गरेको र त्यसप्रति सन्तुष्ट रहेको टोलीलाई जानकारी गराएका छन्।

तर निरीक्षणमा टोलीले सबैभन्दा आपत्तिजनक अवस्था कोठाभित्रै रहेको खुला शौचालयलाई मानेको छ। केही इँटा उठाएर बनाइएको शौचालयमा न ढोका छ न पर्दा। साथै, कोठाको झ्याल प्लाईउडले पूर्ण रूपमा बन्द भएकाले प्राकृतिक हावा र उज्यालो आउजाउ हुन सक्दैन।

टोलीले भेट्दा लामिछानेले धोएका लुगा कोठामै सुकाइरहेका थिए, जसका कारण हल्का गन्ध फैलिएको थियो।

कारागार प्रशासनको तर्क र आयोगको निर्देशन
जेलरका अनुसार, सीमा क्षेत्रमा रहेको कारागार वरिपरि घरहरू भएकाले बाहिरबाट ढुंगा प्रहार हुने जोखिम र सर्पदंशको सम्भावना भएकाले झ्याल बन्द गरिएको हो।

तर आयोगको टोलीले सुरक्षाको नाममा आधारभूत मानवअधिकार खोस्न नपाइने अडान लिँदै तत्काल विकल्प खोज्न निर्देशन दिएको छ। प्लाईउड हटाएर सिसा, बाक्लो जाली वा फलामे रड राखेर भए पनि कोठामा हावा र उज्यालो आउने व्यवस्था गर्न सुझाव दिएको हो। जेलरले चाँडै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य