30.1 C
Kathmandu

सुन्दरीजल : काठमाडौँ उपत्यकाको बोल बम तीर्थस्थल र नियोजित हल्लाको खेल

Categories:

-

लेखक: आशिष गुरागाई

प्रकाशन मिति: २६ साउन २०८२

काठमाडौँ उपत्यकाको उत्तरी–पूर्वी किनारमा अवस्थित सुन्दरी जल कुनै समय गोसाईंकुण्ड र हेलम्बु जाने मुख्य मार्गको प्रवेशद्वार मानिन्थ्यो। दशौँ वर्षअघि यात्रुहरू यहीँबाट पैदल यात्रा सुरु गरेर हिमालतिर प्रस्थान गर्थे। तर, यातायातको पहुँच विस्तारसँगै ती पुराना मार्गहरू अन्य स्थानबाट खुल्न थाले र सुन्दरीजलको ऐतिहासिक भूमिका क्रमशः घट्यो। तर समयसँगै यसको पहिचान फेरि बनेको छ यस पटक धार्मिक आस्थाको केन्द्रको रूपमा।

काठमाडौँको भीड भाड, धूलो–धुवाँ र कोलाहलबाट टाढा हुन चाहनेहरूका लागि सुन्दरीजल अहिले पनि शान्त र हरियालीको आश्रय स्थल हो। वर्षा याममा यहाँको पहाडी नदी, झरना र जङ्गलले पर्यटकलाई आकर्षित गर्छ। तर साउन महिनामा यसको स्वरूप एकाएक बदलिन्छ सुन्दरीजल बोल बम तीर्थस्थलमा परिणत हुन्छ।

विगत १० वर्षदेखि साउनको सोमबारहरूमा यहाँ ठुलो बोल बम मेला लाग्ने गर्छ। भक्तजन मूल खर्कबाट बग्ने खोला र बागमतीको संगम स्थलमा भेला भई, वर्षाको पानी र चिसो हावालाई बेवास्ता गर्दै, खाली खुट्टा ‘बोल बम’ जप्दै पशुपतिनाथसम्मको करिब १५ किलोमिटर लामो यात्रा आरम्भ गर्छन्।

कोभिड–१९ महामारीको समयमा यो धार्मिक यात्रा पूर्ण रूपमा स्थगित गरिएको थियो। स्वास्थ्य सुरक्षाका कारण हजारौँ भक्तजनले वर्षौँसम्म यो परम्परा पालन गर्न पाएनन्। तर महामारीको असर घटेसँगै यो चलन फेरि सुरु भयो । स्थानीय व्यापारीहरूको भनाइमा, यो वर्षको साउनमा मात्र ७ देखि १० लाख भक्तजन सुन्दरी जल पुगेका छन्। किराना पसलदेखि भोजनालयसम्मका व्यवसायीहरूले यस अवधिमा दोब्बरभन्दा बढी व्यापार भएको दाबी गर्छन्। बोल बम यात्रासँगै स्थानीयको आर्थिक गतिविधि पनि चहलपहलयुक्त बनेको छ।

यात्राको लोकप्रियतासँगै सुन्दरी जलमा भीडको चाप असह्य बन्दै गएको थियो । यसैबिच, केही दिनअघि ‘यहाँ बोल बम बन्द गरिएको’ भन्ने हल्ला फैलियो। अफवाह अनुसार, नुहाउने क्रममा एक भक्तजनको मृत्यु भएपछि मेलामा प्रतिबन्ध लगाइएको हो। तर, स्थानीयहरूको भनाइ फरक छ। उनीहरूका अनुसार यो हल्ला योजनाबद्ध ढङ्गले फैलाइएको हो, ताकि भक्तजनको भीड सुन्दरी जलबाट मोडिएर शालिनीनदि र साँखुक्षेत्रमा पुगुन्। यो अफवाह यति व्यवस्थित ढङ्गले प्रचार भयो  धेरैले सहजै विश्वास गरे विश्वास पनि यति गरे कि साउनको अन्तिम सोमबार सुन्दरीजल सुनसान प्राय भयो  । यात्रीहरूको भीड नियन्त्रण गर्न वा वैकल्पिक स्थलतर्फ मोड्न यस्तो हल्ला प्रयोग गरिएको हुनसक्ने आशङ्का बलियो छ।

यस्तो अवस्थाको जड भने सुन्दरी जलसम्म पुग्ने पूर्वाधारको कमजोरी हो। यहाँ पुग्ने सडक साँघुरो, उबड–खाबड र यातायात व्यवस्थापनमा कमजोर छ। वर्षौँदेखि काठमाडौँ उपत्यकाको ‘बाहिरी चक्रपथ’ निर्माण गर्ने योजना चर्चामा छ, जसले सुन्दरीजलजस्ता स्थानमा पुग्ने यातायात सहज बनाउन सक्थ्यो। तर, यो योजना कागजमै सीमित छ। सडक संरचना विस्तारको सट्टा, नेताहरू राजनीतिक प्रचार र भ्रमको खेतीमा रमाइरहेका छन्। यो कारणले मेलाको भीड व्यवस्थापन गर्न सक्ने दीर्घकालीन समाधान कहिल्यै कार्यान्वयन हुँदैन।

बोल बम यात्राले सुन्दरीजललाई धार्मिक पर्यटनको नक्सामा स्थापित गरिदिएको छ। भक्तजनको आगमनसँगै होटेल, पसल, यातायात, र अन्य  सेवाहरूको व्यापार बढेको छ। तर पूर्वाधार अभावका कारण यो सम्भावनालाई व्यवस्थित रूपमा उपयोग गर्न सकिएको छैन। यदि सडक विस्तार, पार्किङ व्यवस्था, सुरक्षित स्नान स्थल र आपत्कालीन स्वास्थ्य सेवा सुधार गर्न सकियो भने, सुन्दरी जल वर्षभरि धार्मिक तथा प्राकृतिक पर्यटनको प्रमुख गन्तव्य बन्न सक्छ।

सुन्दरी जलको बोल बम यात्रा केवल धार्मिक आस्थासँग सीमित छैन यसमा इतिहास, संस्कृति, अर्थतन्त्र र राजनीति सबै मिसिएका छन्। भक्तजनको भीड, नियोजित हल्ला, पूर्वाधारको कमजोरी र राज्यको निष्क्रियता यस कथाको विभिन्न पक्ष हुन्। यो स्थललाई व्यवस्थित गर्न सकियो भने, सुन्दरी जल केवल साउन महिनामा होइन, वर्षभरि नै उपत्यकाको आकर्षण बन्ने सम्भावना राख्छ। तर त्यसका लागि धार्मिक आस्था र प्राकृतिक सौन्दर्यसँगै, योजनाबद्ध पूर्वाधार विकास र पारदर्शी प्रशासनिक हस्तक्षेप आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य