बालुवाटारमा उच्चस्तरीय छलफल, मन्त्रिपरिषद् पुनर्गठन नजिकै

-

काठमाडौं, २५ साउन। प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरू फेरबदल गर्ने तयारी तिब्र पारेका छन्। तुर्केमेनिस्तान भ्रमण सकाएर फर्किएका ओलीले आजदेखि मन्त्रिपरिषद् पुनर्गठन केन्द्रित छलफल सुरु गरेका छन्। विहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको उनले अपरान्ह कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि वार्ता गरेका थिए।

प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेका मन्त्रीहरू फेरबदल गर्ने विषयमा सहमति खोजे पनि कांग्रेसले अस्वीकार गरेको छ। कांग्रेस सभापति देउवाले कांग्रेसभित्रको राजनीतिक सन्तुलन बिग्रिने भयका कारण आफ्ना मन्त्रीहरू नफेरिने स्पष्ट अडान लिएका छन्। उनले मन्त्री फेरबदल गर्दा कांग्रेस बाहेकका गठबन्धनका दलका मन्त्रीहरूलाई मात्र समेट्न सुझाव दिएका छन्।

बालुवाटारमा भएको कांग्रेस–एमाले उच्चस्तरीय छलफलमा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। स्रोतका अनुसार यी दुई मन्त्री फेरबदल नहुने निश्चित छ।

प्रधानमन्त्री ओली अहिले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईको दबाबमा छन्। यी दुवै दलले आफ्ना मन्त्रीहरू फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी गरिरहेका छन्।

लोसपाले श्रममन्त्री शरदसिंह भण्डारीलाई फिर्ता बोलाउने र उनको ठाउँमा सर्वेन्द्रनाथ शुक्ललाई पठाउने प्रस्ताव अघि सारेको छ। ठाकुरले शुक्लको नाम बालुवाटार पठाइसकेका छन्। जसपाले वर्तमान मन्त्री प्रदीप यादव र नवलकिशोर साह सुडीलाई फिर्ता बोलाएर वीरेन्द्र प्रसाद महतो र रञ्जु झालाई नयाँ मन्त्री बनाउने योजना बनाएको छ।

देउवाको अडानपछि प्रधानमन्त्री ओलीले एमाले, लोसपा र जसपाका केही मन्त्रीहरूलाई फेरबदल गर्ने तयारी गरिरहेका छन्। ओली यसै साता मन्त्रिपरिषद् पुनर्गठनको घोषणा गर्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य