लेखक: केपी शर्मा ओली
काठमाडौं, २४ साउन । जुन पार्टीको आन्तरिक जीवनमा लोकतन्त्र छैन या जुन पार्टी खुदै लोकतान्त्रिक छैन, त्यसले समाजमा लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्न सक्दैन । लोकतन्त्र देखाउने आवरण या पार्टीलाई सिँगार्ने गहना होइन । यो राज्य सञ्चालन गर्ने वैज्ञानिक, न्यायपूर्ण र सामाजिक विधि हो, राज्य सञ्चालनका जिम्मेवार दललाई जनउत्तरदायी बनाउने व्यवस्था हो र यो व्यक्तिको आचरण र जीवन शैली पनि हो ।
लोकतन्त्र समग्र सामाजिक प्रणाली, संरचना, प्रकृया, पद्धति र आचरण समेत हो । त्यसैले लोकतान्त्रीकरणको चालु बहसलाई हामीले कुनै निश्चित संरचना या विधानको निश्चित व्यवस्थाको साँघुरो दायरामा होइन, सिङ्गो समाजको लोकतान्त्रीकरण र जनतालाई अधिकारसम्पन्न बनाउने बृहत् उद्देश्यको सन्दर्भमा राखेर हेर्नुपर्छ ।
जनताको बहुदलीय जनवादको चर्चा गर्दा हामीले यसलाई कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणको धाराको रूपमा समेत चर्चा गयौँ । हिंसाको बलमा, बन्दुकलाई सिरानी हालेर या दुईचार क्रान्तिकारीहरूको र शौर्यमाथि आधारित भएर होइन, आम जनताको सचेत, जागरुक र सकृय हस्तक्षेपको बलमा सामाजिक रूपान्तरण गर्ने यसको बाटो प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्दै जनताको अभिमतबाट मात्रै जनवादी या समाजवादी राज्यसत्ता सञ्चालन गर्ने यसको मान्यता जनताको बहुदलीय जनवादका अन्तर्वस्तु हुन् ।
स्वाभाविक छ, आम जनतालाई त्यसरी उत्प्रेरित गर्दै त्यसकै बलमा समाज परिवर्तन गर्न त्यही ढाँचाको सङ्गठन आवश्यक पर्छ र निरन्तर जनताको अनुमोदन लिएर तथा प्रतिष्पर्धामा वैशिष्ठ्य हासिल गरेर मात्रै सत्ता सञ्चालन गर्न पनि त्यसै प्रकृतिको लोकतान्त्रिक पार्टी संरचना आवश्यक पर्छ । त्यसैले पार्टीको लोकतान्त्रीकरण हामीले सम्पन्न गर्न खोजेको क्रान्तिको बाटो र हामीले स्थापना गर्न खोजेको समाजवादको विशिष्ठतासँग अविभाज्य ढङ्गले जोडिएको छ । अझ यसो भनौँ, यो विषय त्यस्तो क्रान्ति र त्यस्तो राज्यव्यवस्थाको अनिवार्य पूर्वशर्त हो ।
पार्टी, राज्य र समग्र समाजको लोकतान्त्रीकरण आजको अपरिहार्य आवश्यकता हो । तर विडम्बना, यतिबेला पार्टीलाई सैनिकीकरण गर्ने, राज्य र समाजलाई तानाशाहीकरण गर्ने र राज्यको सर्वाधिक महत्त्वपूर्ण सुरक्षा अङ्ग नेपाली सेनालाई लोकतान्त्रीकरण त्यउ गर्ने उल्टो हावा चलिरहेको छ । वास्तवमा हतियारधारी पार्टीको निशस्त्रीकरण, निशस्त्र पार्टीको समेत लोकतान्त्रीकरण, समाजको सम्पूर्ण क्षेत्रमा लोकतान्त्रीकरण र नेपाली सेनाको आधुनिकिकरण र सुदृढिकरण आजका आवश्यकता हुन् । सेनाको आधुनिकीकरणका संविधानको सर्वोच्चता, नागरिक शासन, पारदर्शिता जस्ता आधुनिक मूल्य मान्यता र साधन९स्रोत र तालिम९प्रशिक्षण जस्ता कुराहरूवाट सुसज्जित पार्ने आधुनिकताका पक्ष गरी दुईवटा पक्षहरू छन् ।
पाँचौँ राष्ट्रिय महाधिवेशनमा हामीले जबजको सैद्धान्तिक पाटोमा पर्याप्त बहस गर्दै निश्चित टुङ्गोमा पुऱ्याउन सके पनि हामीले यसको सङ्गठनात्मक संरचनाबारे पर्याप्त बहस गर्न पाएनौं । मदन कमरेडको निधनसँगै यसका कतिपय पक्षमा हुनुपर्ने सिर्जनात्मक बहस र थप किविकास अवरुद्ध जस्तै भए ।
सातौँ महाधिवेशनमा हामीले पार्टी जीवनको लोकतान्त्रीकरणको बहसलाई विधिवत प्रारम्भ त गयौँ, तर पार्टीको तात्कालीन चेतना, पार्टीभित्रको मनोविज्ञान र छलफलको सीमित समयसीमा जस्ता अनेकौँ कारणहरूले यो बिषय स्थगन गर्नुपर्ने अवस्था सिर्जना भयो । आठौँ राष्ट्रिय महाधिवेशनमा भने यो विषय मुख्य एजेण्डा बनेर स्थापित हुन सफल भयो र हामीले व्यापक बहस सहित यसलाई पार्टी जीवनको अभिन्न अङ्गको रूपमा स्थापित गर्ने सफलता हासिल गरेका छौँ ।
पार्टी जीवनको लोकतान्त्रीकरण कुनै पदको भागबण्डा या अधिवेशनको बेला हुने निर्वाचनको प्रश्न मात्र होइन । यसको सार हो पार्टीमा आम सदस्यहरूको सार्वभौमिताको स्थापना, नीति निर्माण र निर्णय प्रकृयामा उनीहरूको स्वामित्वको प्रत्याभूति, कार्यकर्ताको स्वेच्छिक चयनका आधारमा नेतृत्वको निर्माण र उपयुक्त विधिद्वारा जिम्मेवारी वितरणसहित सामूहिक नेतृत्वको स्थापना, पार्टीभित्र वैचारिक राजनीतिक बहसको जीवन्त उपस्थिति, विचारकै आधारमा विभेद नहुने कुराको ग्यारेन्टी, माथिल्लो कमिटी र नेतृत्वका कामको निश्चित विधिद्वारा जबाफदेहिताको सुनिश्चितता, नेतृत्व युवा पुस्तामा क्रमशः हस्तान्तरणका लागि मुख्य पदहरूमा दुई कार्यकालको सीमा निर्धारण आदि ।
अर्थात् सारमा पार्टीको लोकतान्त्रीकरण पार्टी जीवनमा नयाँ रक्त सञ्चार गर्ने विधि हो । पार्टी नेतृत्वमा पुगेपछि सिङ्गो पार्टी नभनेर संस्थापन भन्ने र आफ्ना अन्य समर्थक र पक्षहरूको हितको निम्ति काम गर्ने, अलिकति असहमति वा फरक विचार राख्ने चिन्तनशिल र सिर्जनशील साथीहरूलाई शत्रु ठान्ने, भजन सुन्न मन पराउने आलोचना सुन्न परै कान टक्टक्याउने र सवत्र भजनमण्डलीलाई स्थान दिन खोज्ने संकीर्णताले पार्टी जीवनलाई अस्वस्थ बनाउने भएकोले त्यस्ता तरिकाहरूलाई हराउनु र स्वस्थ लोकतान्त्रिक विधि र व्यवहार अपनाउनु आवश्यक छ ।

