काठमाडौं, साउन २० । बागमती प्रदेशमा सत्ता समीकरणको नयाँ अध्याय सुरु भएको छ। कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री नियुक्त भएसँगै आज आठ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री बानियाँसहित नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। कांग्रेस र एमालेबीचको सहमति अनुसार गठन भएको मन्त्रिपरिषद्को प्रारम्भिक स्वरूपमा दुवै दलका मन्त्रीहरू सहभागी भएका छन्।
कांग्रेसबाट मुख्यमन्त्रीसहित तीन जनाले शपथ लिएका छन्। बानियाँसँगै कांग्रेस सांसद शिवराज अधिकारी र कृष्णकुमार तामाङ मन्त्री बनेका छन्। तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अधिकारीको मन्त्रालय अझै टुंगो लागेको छैन।
एमालेबाट भने छ जना मन्त्रीले शपथ लिएका छन्। उनीहरूमा कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, उद्योग मन्त्री विन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा र वन मन्त्री भरत केसी रहेका छन्।
बागमतीमा १४ मन्त्रालय छन्। सत्ता बाँडफाँटका आधारमा एमालेले ६ र कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालयको जिम्मेवारी पाउने सहमति भएको छ। तर कांग्रेसभित्रको आन्तरिक विवादका कारण बाँकी पाँच मन्त्रालयमा मन्त्रीको नियुक्ति हुन सकेको छैन। कांग्रेसले केही दिनभित्र ती मन्त्रालयमा पनि मन्त्री पठाउने तयारी गरिरहेको जनाइएको छ।
सत्ता साझेदारीको नयाँ प्रारूपसँगै बागमतीको राजनीति पुनः सक्रिय मोडमा प्रवेश गरेको देखिन्छ।


