काठमाडौं, २० साउन । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र कलह चुलिएको छ ।
अध्यक्ष लिङदेनको मनोमानी बिरूद्द भन्दै संस्थापन इतर समूहले अलग्गै बैठक गरेका छन। सोमबार हात्तीसार, कमलादीस्थित नेपाल हाउसमा उनीहरूले अलग्गै भेला गरेका हुन् ।
सो बैठकमा वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेको नेतृत्वमा उपाध्यक्ष (पदमुक्त भएका) मुकुन्द श्याम गिरी, महामन्त्रीद्वय डा. धवलशमशेर राणा र कुन्तीकुमारी शाही, सहमहामन्त्री रवीन्द्र प्रताप शाह, सहायक महामन्त्री प्रेम बलायरलगायत पदाधिकारीसमेत सहभागी रहेका थिए ।
साथै सो बैठकमा बागमती र कर्णाली प्रदेश अध्यक्ष क्रमशः विक्रम बहादुर थापा र दिपबहादुर शाही, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य जगत गौचन, प्रवक्ता
(पदमुक्त भएका) सगुन सुन्दर लावती, सहायक प्रवक्ता प्रबिनकुमार थोकर तामाङ, ऋषिराज देबकोटा र सौरेन्द्र बहादुर शाहलगायत ७० जना सहभागी रहेको जनाइएको छ ।
अध्यक्ष लिङ्देनले अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलगायतलाई क्रमशः पदमुक्त गर्ने क्रम बढेपछि इतर समूह थप असन्तुष्ट रहेको बेला यो बैठक बसेको हो ।
। हात्तिसारमा बसेको बैठकमा पार्टीका ७ पदाधिकारीहरुसहित ७० जना नेता सहभागी थिए ।
बैठकले राप्रपाको आगामी केन्द्रीय समिति वैठकमा कडा रूपमा प्रस्तुत हुने निर्णय गरेको सहभागी एक नेताले जानकारी दिए । अध्यक्ष लिङदेनले गरेका कारबाहीहरू पूर्वाग्रही र विधान विपरीत रहेको विषय पार्टी पंक्तिलाई बुझाउने तथा त्यसलाई उल्टाउने गरी केन्द्रीय समितिमा प्रस्तुत हुने बैठकको निष्कर्ण छ ।
राप्रपाको केन्द्रीय समिति बैठक भदौको दोस्रो साता बस्दैछ । राप्रपा अध्यक्ष लिङदेनले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै संस्थापन इतर पक्षले संगठित प्रतिवाद गर्दै आएको छ ।
पार्टी भित्र बलियो अवस्थामा रहेका लिङ्देन अहिले इतर समूह बलियो बन्दै गएपछि पसिनै पसिना हुन थालेका छन् । उनी अध्यक्ष भएपछि पहिलो पटक यस्तो संकटको सामना गर्नुपरेको एक नेताले रातो सूर्यलाई जानकारी दिए ।


