21.1 C
Kathmandu

तीन मन्त्रीले शपथ लिनेबित्तिकै म हट्छु! लामाले राखे यस्तो शर्त

-

हेटौँडा,१८ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज (साउन १८ गते) पदबाट राजीनामा दिने भएका छन्। नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा पराजित भएपछि लामा पदबाट हट्न तयार भएका हुन्।

नेपाली कांग्रेसले हालै सम्पन्न संसदीय दलको नेतामा नयाँ नेतृत्व चयन गर्दा इन्द्रबहादुर बानियाँ विजयी भएका थिए। त्यसयता दलभित्र र बाहिर लामामाथि बढ्दो दबाब थियो। कांग्रेसका सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न निर्देशन दिएपछि लामा राजीनामाको निष्कर्षमा पुगेका हुन्।

देउवाको निजी निवास बुढानीलकण्ठमा बिहीबार राति भएको छलफलपछि शनिबार बिहान लामा र बानियाँबीच थप छलफल भएको थियो। छलफलमा लामा पक्षले दुई सर्त राखेको र दुवै पक्ष सहमत भएपछि राजीनामा प्रक्रिया अघि बढेको हो।

लामाले आफूले नियुक्त गरेका तीन मन्त्रीलाई शपथ गराउनु पर्ने र नयाँ सरकार सञ्चालनमा आफ्नो पक्षसँग सहकार्य गर्नुपर्ने शर्त राखेका थिए। ती शर्तहरू कांग्रेस संसदीय दलका नवनिर्वाचित नेता बानियाँले मान्ने सहमति जनाएपछि लामा राजीनामा दिन तयार भएका हुन्। उपनेता रामकृष्ण चित्रकारका अनुसार सहमति अनुसार प्रक्रिया अगाडि बढेको हो।

लामाले साउन १४ गते प्रमुख सचेतक गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्रीमा नियुक्त गरेका थिए। तर सत्ता साझेदार नेकपा एमालेको असन्तुष्टि र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा बिरामी परेपछि उनीहरूलाई शपथ गराउन सकिएको थिएन।

प्रदेश प्रमुख देवकोटा आज हेटौँडा फर्किएमा लामाले प्रत्यक्ष राजीनामा बुझाउने र नभए मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत राजीनामा दिने तयारी गरेका छन्।

लामाको राजीनामापछि बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री बन्नेछन्। यसअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्मकट्टेल र बहादुरसिंह लामाले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य