“सुनिस्यो त??”
बूढीको आवाजले म झस्किए!! ठुलो स्वरले कराएकीले होइन! त्यो त आदतै भइसक्या छ! अरु दिन भन्दा सुमधुर स्वर निक्लिएकोले म झस्किए!! “दाल मे काला” को गन्ध उनको भाग भङ्गिमाले प्रस्ट्याउँथ्यो नै!
के भो हौ?? आशङ्का सहितको स्वर निकालेँ!
“तिजको निम्तो गर्न थालिसके नि!” चिप्लो घस्ने स्वर प्रस्टै सुनिन्थ्यो!
“अनि कुन नयाँ कुरो भो र?? गए भई गो त निम्तो मान्न!!”
“अलिकति पैसा चाहिएको छ क्या!!”
“ए!! त्यसैले पो निक्लिएको रहेछ चिप्लो स्वर??” व्यङ्ग्यात्मक भावले ङिच्च दाँत देखाइ दिएँ!
“होइन क्या!! हेर्स्यो त कपाल यस्तो जिङरिङ्ग परेको छ! फुलेको कपाल त्यसमाथि फाटेर हेरिसक्नु छैन! यस्तो कपाल लिएर के जानु?? अरुहरु चिटिक्क परेर भेला हुँदा म मात्र यसरी के जानु? हजुरकै इज्जत को पनि त ख्याल राख्नु परेन??” मस्का दमदार थियो।
“अनि कपाल चिटिक्क पार्न कति खर्च लाग्छ र?? गार्नियर कि के हो कलर दल्ने गर्थ्यौ क्यारे त! दले भई गो त!! पाँच छ सयकै कुरा होला! त्यतिका लागि पनि के भूमिका बाँधेकी होला!” सोझो मन, सोझै कुरा गरेर टुङ्ग्याउन खोजेँ!
है!! हजुर कुरै बुझिसिन्न! “क्यारेटिङ” गर्ने हो के!!
त्यो भनेको के हो?? २-३ हजारै लाग्छ कि क्या हो?
कपालको ट्रीटमेन्ट हो! फाट्न बन्ध हुन्छ! कपाल सिल्कि हुन्छ! काया पलट हुन्छ!! हजुरलाई त सम्झाउनै गार्हो!!
अलि खुलेर कुरा गरे हुन्न?? म झर्किएँ!!
अलि बढिनै लाग्छ क्या!! आमा छोरीलाई गरेर २४ हजार जति लाग्छ भन्या छ हौ!!!
भाउन्न भएर आयो! पेट बाउँडिएर बान्ता होला होला जस्तो भो दर सुनेर!! दुबइ तिर हो ट्रीटमेन्ट गर्ने कि नेपालमै हो?? वाहियात!! कपाल नाथेलाई यति खर्च गर्न सकिँदैन! बिर्स !! म मुडुलो हुँदा चलेकै छ! एक्का दुक्का बाहेक कसैले छ्या भन्या छैनन् क्यारे!
राता राता आँखा पारेर म दन्दनाएं!!
लु भो!! दिनु पर्दैन हजुरले! अरूको आस गरेर कसैले बाँच्न नपरोस् भवन!! बूढीका आँखा टिलपिल थिए!!


