कहिलेकाहीँ केही गीतहरू केवल धुन मात्र हुँदैनन्, तिनीहरू हाम्रा मनका भित्री आवाज हुन्छन् । कालजयी स्रष्टा अम्बर गुरुङको धेरै गीत यस्ता छन् । तीमध्ये यो गीत एक त्यस्तै मौन चिच्याहट हो, एक गहिरो वाक्य हो जुन हामी दिनहुँ अनुभूत गर्छौं, तर उच्चारण गर्दैनौं ।
“म खुशी भएर के भयो, …”
अम्बर गुरुङद्वारा रचना, संगीत एवम् स्वरबद्ध यो गीतको पंक्ति केवल गीत होइन, एक दर्शन हो । एक यस्तो प्रश्न पनि हो, जसले आत्मा छाम्छ, अन्तरात्माको द्वार ढकढक्याउँछ । यो गीतले दर्शनको झ्यालबाट प्रश्न गर्छ, खुशी हुनु आफैंमा के हो ? के त्यो एकल अनुभूति हो, वा अरूको हर्षसँग गाँसिएको सामूहिक चेतना हो ?
“म खुशी भएर के भो ?” यो प्रश्नसँगै एक विस्मय पनि हो । जसमा एउटा आत्मस्वीकृति लुकेको छ । खुशी भन्ने कुरा कहिल्यै स्थायी होइन र यदि त्यो केही बेरका लागि आयो भने पनि त्यो हामीभित्रको गहिरो अभाव मेटाउन असमर्थ हुन्छ ।
हामीलाई सानैदेखि सिकाइन्छ “खुशी हुनु जीवनको उद्देश्य हो ।” तर यथार्थमा, खुशी एक क्षणिक अनुभूति हो, जसले पीडाको उपस्थिति होइन, केवल अभाव भुलाउने काम गर्छ । जस्तो: परीक्षा पास हुँदा आउने खुशी, कुनै पुरानो साथीसँग भेट्दा हुने हर्ष, मन परेको किताब पढ्दै गर्दा पाइने तृप्ति । यी सबै खुशीहरू सच्चा छन्, तर अस्थायी छन् । जसरी हिउँ परेपछि सूर्य निस्कन्छ, तर त्यसले हिउँ पगाल्ने प्रक्रिया सुरु गर्छ, त्यसैगरी खुशी पनि कहिल्यै पूरै राख्न सकिँदैन ।
यहाँ हामी खुशीको गहिराइमा डुबेर, अम्बर गुरुङको संगीत, पूर्वीय शान्ति र पश्चिमी अस्तित्वको चिन्तनलाई एक साथ गुञ्जाउने प्रयास गर्न सक्छौं । “म खुशी भएर के भयो…” यो पंक्ति केवल प्रेमको विछोड नभई आत्मकेन्द्रित समाजको आलोचना पनि हो । यो एक आत्मस्पर्शी चिन्तन हो: के मेरो सन्तोष अरूको पीडामाथि हुन सक्छ ? के म केवल आफ्नो भावना लिएर पूरै अस्तित्वको प्रतिनिधि ठान्न सक्छु ? यो त्यही युगको गीत हो, जहाँ सत्ताले व्यक्तिगत खुशीलाई मूल्य मान्थ्यो, तर कलाकारले भने, “अरू नहाँस्दा मेरो हाँसो अधूरो हो ।” भन्थ्यो ।
अम्बर गुरुङ नेपाली संगीतमा केवल एक संगीतकार होइनन्, एक अनुभूतिपूरक दार्शनिक हुन् । “म खुशी भएर के भो ?” गीतमा उनले केवल एक प्रेमीको मनोविज्ञान बोलेका छैनन्, उनले हामी सबैको अभ्यन्तर उजागर गरेका छन् । प्रेममा धोका, जीवनमा अपूर्णता, पारिवारिक सम्बन्धमा दूरी—यी सबै अनुभवहरू सँगै बोकेर पनि हामी सामाजिक मुखौटामा मुस्कुराउँछौं । अनि भित्रभित्रै बाफिएर उठेको एक तिक्त प्रश्न बाहिरिन्छ— “म खुशी भएर के भो ?”
मानिसको जीवनको परम लक्ष्य के हो ? धन, ऐश आराम, सत्ता वा प्रेम ? यी सबै प्राप्त गरेपछि पनि मानिस किन खुशी हुँदैन र अझै खुशीको खोजीमा लागिरहन्छ ? अझ यसरी भनुँ, यो खुशी भनेको के होला ? के यो एउटा भावना हो, वा जीवनको अवस्था हो ? यसै प्रश्नलाई आधार बनाएर गायक अम्बर गुरुङले गीत रचना गरेका थिए ‘म दूर भएर के भो अभिशाप छाएर के भो ।’ यस गीतभित्रको अन्तिम अन्तरामा “म खुशी भएर के भयो ?” भन्ने शब्दसहित आफ्नो भावना व्यक्त गरेका छन् ।
यस गीतमा खुशीको अर्थ, अभिशापको अर्थ, प्रेमको अर्थलाई निर्गुण भावमा व्यक्त गरिएको छ । गीतमा गुरूङले दुःख-सुख त्यसको प्राप्ति र त्यसपछिको अस्तित्वगत प्रश्नहरूलाई सामान्य तर अर्थपूर्ण ढंगमा प्रस्तुत गरेको छ । यतिमात्र नभै गीतले खुशीको दार्शनिक पक्ष, पूर्वीय र पश्चिमी विचारधाराको आयामको प्रसंगलाई समेट्न खोजिएको छ ।
पूर्वीय दर्शन, विशेष गरी हिन्दू, बौद्ध र जैन परम्परामा ‘खुशी’ भन्नाले बाह्य वस्तुको प्राप्तिमा निर्भर नगरी आन्तरिक शान्तिको अवस्थालाई बुझिन्छ । भगवद्गीताले भन्छ, “योगस्थः कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय । सिद्ध्यसिद्ध्योः समो भूत्वा समत्वं योग उच्यते ।” फलको चिन्ता नगरी कर्म गर्ने व्यक्ति नै योगी हो । निर्वाणको अवस्था नै सम्पूर्णमा खुशी हुनसक्छ । पूर्वीय चिन्तनमा त्याग, संयम र आत्मसाक्षात्कार नै खुशीको मूल आधार हो ।
बुद्धले “सबै दुःखको मूल ‘तृष्णा’ भनेका छन् ।” तृष्णा, अर्थात् मात्र आफूको लागि चाहनु । पूर्वीय दर्शनमा खुशी आत्मकेन्द्रित होइन, पर–केन्द्रित छ । हिन्दू दर्शनमा सर्वे भवन्तु सुखिनः भनेको शुभकामना होइन, जीवनदृष्टि हो । तपाईं खुशी हुनुहुन्छ भने त्यो अरूको पीडामा उदासीन भएर होइन, करुणा र सहअनुभूतिको माध्यमबाट हुनुपर्छ । यहाँ खुशी एउटा “धार्मिक उत्तरदायित्व” हो, जहाँ तपाईको आन्तरिक शान्तिले अरूको जीवनलाई पनि उज्यालो पार्नुपर्छ ।
पश्चिमी चिन्तनले खुशीलाई प्रायः व्यक्तिगत स्वतन्त्रता र आत्म–साकारसँग जोडेका छ । जे.एस. मिलले भनेका छन् “The worth of a state in the long run is the worth of the individuals composing it.” तर Existentialism (Jean-Paul Sartre, Camus) ले अर्को कोणबाट खुशीको मूल्यांकन गर्छन् । अल्बर्ट कामु भन्छन्— “In the midst of winter, I found there was, within me, an invincible summer.” अर्थात्, वास्तविक खुशी कुनै बाह्य वस्तु होइन, त्यो एक आन्तरिक अवस्था हो तर त्यो तबसम्म अधूरो छ, जबसम्म अरूको अस्तित्वलाई स्वीकार गरिँदैन। अम्बर गुरुङको गीत यही दर्शनसँग ठ्याक्कै मेल खान्छ “ऊ” नहाँस्दा “मेरो” खुशी अपूर्ण हुन्छ।
पश्चिमा दर्शनमा खुशीलाई व्यक्तिगत उपलब्धि, भौतिक सुख र स्वतन्त्रतासँग जोडेर हेरिन्छ । अरिस्टोटलले यसलाई “यूडेमोनिया” (Eudaimonia) भने, जुन आत्म-साक्षात्कार र पूर्णताको अवस्था हो । जर्मन दार्शनिक इम्मानुएल काण्टले खुशीलाई नैतिक कर्तव्यपूर्तिमा परिभाषित गरेका छन् । अहिलेको पश्चिमी समाजमा खुशी भनेको मनोवैज्ञानिक सुख (Hedonism) मा केन्द्रित छ, तर यसले दीर्घकालीन सन्तुष्टि दिन सक्दैन।
अम्बर गुरुङको संगीत केवल ताल, लय र आवाज होइन, त्यो आत्माको संगीत हो । “म खुशी भएर के भयो…” भन्नु नै आत्म–केन्द्रित ‘खुशी’ को पराजय हो, र समष्टिगत ‘सन्तुलन’ को पुकार हो । यो गीत सुनिरहँदा लाग्छ: खुशी भनेको संवाद हो, एकालाप होइन । जीवन भनेको सम्बन्धको लय हो, स्वरको होइन ।
अम्बर गुरुङको यो गीत आधुनिक युगको अस्तित्ववादी प्रश्न हो । गीतका पंक्ति –”म खुशी भएर के भयो ? ले खुशी पाएपछि पनि जीवनमा नयाँ प्रश्न उठ्ने बताउँछ । के खुशी नै जीवनको अन्त्य हो त ? वा खुशी पछि पनि जीवनले अर्को लक्ष्य खोज्छ ? यसले पश्चिमी अस्तित्ववादी दार्शनिक सार्त्र र कामुको विचारसँग मेल खान्छ, जसले भनेका थिए कि मानिसको जीवन “अर्थको खोजी” मा नै केन्द्रित छ।
खुशीलाई हामीले प्रायः दुःखको विपरीतका रूपमा बुझ्ने गर्छौं । दुःखबाट मुक्ति पाउनु नै खुशी हो भन्ने हाम्रो आम धारणा छ । तर, के दुःखको अभाव मात्र खुशी हो त ? यदि त्यसो हो भने, दुःखको अभावमा जीवनको गतिशीलता र विकास कसरी सम्भव हुन्छ ? दुःखले नै हामीलाई सिक्ने, हुर्कने र बलियो बन्ने अवसर दिन्छ । यस अर्थमा, खुशी केवल दुःखको अनुपस्थिति नभई, जीवनका आरोह-अवरोहहरूलाई स्वीकार गर्दै अगाडि बढ्ने एउटा सकारात्मक मानसिक अवस्था पनि हो ।
“म खुशी भएर के भयो…”—यो प्रश्न हो, जसले हामीलाई हाम्रो जीवनदृष्टिको पुनरावलोकन गराउँछ । हामी खुशी खोज्ने क्रममा कहिल्यै नबुझ्ने एउटा सत्य हो—खुशी लिने होइन, दिने कुरा हो । पूर्वीय करुणा, पश्चिमी उत्तरदायित्व र अम्बर गुरुङको संगीतले मिलेर हामीलाई सन्देश दिन्छन्:
म उदास भएर के भो ?
म खुसी भएर के भो ?
अन्ततः, खुशी आफैँमा कुनै अन्तिम गन्तव्य होइन । यो एउटा यात्रा हो, जहाँ प्रत्येक मोडमा नयाँ अर्थ र उद्देश्यहरू भेटिन्छन् । जब म खुशी हुन्छु, तब म जीवनका चुनौतीहरूलाई अझ सहज रूपमा सामना गर्न सक्छु । मेरो खुशीले मलाई अरूलाई प्रेम गर्न, क्षमा दिन र जीवनलाई पूर्ण रूपमा अँगाल्न सिकाउँछ । यसरी, “म खुशी भएर के भयो ?” भन्ने प्रश्नको उत्तर यो हो कि मेरो खुशीले मलाई अझ राम्रो मानव बन्न, अरूको जीवनमा सकारात्मक प्रभाव पार्न र समग्रमा एक अर्थपूर्ण जीवन जिउन मद्दत गर्छ । यही नै खुशीको वास्तविक दार्शनिक सार्थकता हो।
“म खुशी भएर के भो ?” — यो गुनासो होइन। यो एक अस्तित्ववादी चेतावनी हो। हामी खुशीमा बाँधिएका छैनौं, हामी त जीवनका आयामहरू बुझ्ने प्रयासमा छौं । र यदि जीवनले केही सिकाउँछ भने त्यो हो— खुशी त पलभरको हो, तर त्यसको पछाडि लुकेको ‘नभएको पीडा’ साँचो अनुभूति हो।
अम्बर गुरुङको यो गीत, हाम्रा हाँसोका पछाडि लुकेको मौनता, हाम्रा आत्मीयताका पछाडि लुकेको टाढोपन, र हाम्रा हर्षका क्षणहरूभित्र लुकेको बेचैनीको संगीत हो । र अन्ततः, हामीले आफैंलाई सोध्नुपर्छ— “म उदास भएर के भो ? म खुसी भएर के भो ? यति विरान जिन्दगी छ कि विरानी आए के भो ?”


