काठमाडौँ, १६ साउन । गुण्डा नाइकेका रूपमा चिनिने चक्रे मिलन उर्फ मिलन गुरुङ बिहीबार राति काठमाडौंको ठमेलबाट पक्राउ परेका छन्। ठमेलस्थित एक होटलमा जन्मदिनको पार्टी आयोजना गर्दै गरेका मिलनसहित करिब ४७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सूचनाका आधारमा सादा पोशाकमा परिचालित काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उक्त अपरेशन सञ्चालन गरेको हो। प्रहरीका अनुसार चक्रे मिलनको पार्टीमा विभिन्न आपराधिक पृष्ठभूमिका व्यक्ति सहभागी रहेको थाहा पाएपछि रातभर ठमेल क्षेत्रमा निगरानी बढाइएको थियो।
पक्राउ परेका व्यक्तिहरूलाई प्रारम्भिक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ। चक्रे मिलन लामो समयदेखि आपराधिक गतिविधिमा संलग्न रहँदै आएका व्यक्ति हुन्। उनमाथि हत्या, अपहरण, चन्दा असुली लगायतका मुद्दामा संलग्नताको आरोप लाग्दै आएको छ।
प्रहरी स्रोतका अनुसार उक्त अपरेशनअन्तर्गत ठमेलमा रहेका अन्य होटेल, रेष्टुरेन्ट तथा बारहरूमा पनि निगरानी राखिएको थियो। अपरेशनको क्रममा आपराधिक रेकर्ड भएकाहरूको विवरण संकलन तथा पहिचानमा विशेष ध्यान दिइएको जनाइएको छ।
चक्रे मिलन लामो समयसम्म सार्वजनिक जीवनबाट ओझेलमा रहे पनि पछिल्लो समय पुनः सक्रिय भएको अनुमान प्रहरीको छ। सोही सन्दर्भमा उनलाई विशेष निगरानीमा राखिएको थियो।
प्रहरीका अनुसार अब पक्राउ परेकाहरूको पृष्ठभूमि जाँच गरिनेछ र आपराधिक संलग्नता भेटिएमा कानुनी कारवाही अघि बढाइनेछ।


