वैदेशिक रोजगारीसम्बन्धी सहायता विवरण
काठमाडौँ, १५ साउन — वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा मृत्यु भएका १ हजार १ सय ८० जना नेपालीको शव गत आर्थिक वर्षमा स्वदेश ल्याइएको छ। वैदेशिक रोजगार बोर्डले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले सो तथ्याङ्क सार्वजनिक गरेका हुन्।
बोर्डका अनुसार तीमध्ये ७० शव हालसम्म विदेशमै अलपत्र छन्। कार्यकारी निर्देशक उप्रेतीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष शव ल्याउने सङ्ख्या वृद्धि भएको बताए। उनले शव सम्बन्धित परिवारसम्म पुर्याउन थप शव वाहन (एम्बुलेन्स) आवश्यक रहेको उल्लेख गर्दै दुई वटा नयाँ विद्युतीय शव वाहन खरिद गर्ने तयारी भइरहेको जानकारी दिए।
“पुराना शव वाहनको सट्टा वातावरणमैत्री विद्युतीय एम्बुलेन्स ल्याउने योजना बनाएका छौँ,” उनले भने, “यसका लागि बजेट समेत विनियोजन गरिएको छ।”
उप्रेतीका अनुसार विदेशबाट शव वा बिरामी अवस्थामा ल्याउनुपर्दा आफूहरू मानसिक रूपमा समेत दुःखी हुने गरेको बताए। उनले आगामी वर्ष त्यस्ता घटनामा कमी ल्याउने लक्ष्य लिइएको पनि स्पष्ट पारे।
विदेशमा जेल परेका नेपालीहरूको अवस्थाबारे जानकारी दिँदै उप्रेतीले अधिकांशमा लागु औषध र मदिरा सेवनजस्ता कुलत देखिएको बताए। “अनेक नेपाली कानुनी प्रक्रिया अघि बढाउन चाहँदैनन्,” उनले भने, “त्यसैले सरकारको तर्फबाट विनियोजन भएको बजेट खर्च हुन सकेको छैन।”
बोर्डले अघिल्लो वर्ष मृत्यु भएका १,२५० नेपालीका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। अङ्गभङ्ग भएका ६९८ श्रमिक, २७५ श्रमिकका परिवारलाई स्वास्थ्य उपचार सहयोग र ९९० जना सन्तानलाई छात्रवृत्ति प्रदान गरिएको छ।
साथै, सङ्घीय तथा प्रदेश सांसदहरूलाई वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण गरिने र वैदेशिक रोजगारीबाट फर्केर उद्यम थालेका व्यक्तिलाई लक्षित गर्दै ‘रिटर्नी उद्यमी आइडल’ कार्यक्रम सञ्चालन गरिने उप्रेतीले जानकारी दिए।

