काठमाडौं १५ साउन । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण रोकिएको छ । बिहीबार दिउँसो १ बजेका तय भएका शपथग्रहण समारोह प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अकस्मात् बिरामी परेपछि रोकिएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनी आज बिहानै काठमाडौं आएका छन् ।
अर्को सूचना प्रकाशन नभएसम्मका लागि अहिले शपथग्रहण कार्यक्रम स्थगन गरिएको उनले बताए ।
यदि बिहीबार नयाँ मन्त्रीहरुको शपथ ग्रहण भएको भए बागमतीको सरकारको संकट अझै गहिरिने अनुमामन गरिएको थियो। तर उनी अकास्मत विरामी परेपछि शपथ ग्रहण रोकिएको हो।
प्रदेश प्रमुखको सचिवालयले बिहीबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रीज्यूहरूको शपथ ग्रहण समारोह मिति २०८२ श्रावण १५ गते बिहीबार दिनको १ बजेको लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या आएकोले उपचारार्थ आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएको हुँदा माननीय प्रदेश प्रमुखज्यूको निर्देशानुसार अर्को सूचना प्रकाशन नभएसम्मको लागि शपथग्रहण कार्यक्रम हाललाई स्थगन गरिएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।’
नैतिक हिसाबमा बागमती प्रदेशका मुख्यमन्त्री लामा सत्ताबाट बाहिरिनु पर्ने अवस्था सृजना भएको छ। तर संविधानको साहारा लिदै उनले राजीनामा नदिने अडान लिएपछि समस्या थप जटिल बनेको छ।
अंक गणितीय हिसाबमा लामाको सरकार अल्पमतमा परेको छ। उनी २४ घण्टाको बिचमा दुई पटक पराजित भएका छन् । सत्ता साझेदार एमाले यो मामलामा तटस्थ बसेको छ। सो पार्टीले कांग्रेसको संस्थागत निर्णयको प्रतिक्षा गरेको जनाएको छ।
कांग्रेस केन्द्रले निर्देशन दिदा पनि मुख्यमन्त्री लामाले राजीनामा दिएनन् भने उनको बर्हिगमनका लागि लामो प्रक्रिया पुरा गर्नुपर्ने देखिन्छ। पहिलो उनलाई कांग्रेले कारबाही गर्नुपर्ने हुन्छ । तर त्यसो गर्दा पनि उनी मुख्यमन्त्रीबाट नहटे निकासको बाटो के हुन्छ भन्ने बिषयमा अन्योल सृजना भएको छ।
संविधान अनुसार मुख्यमन्त्री नियुक्त भएको २ बर्ष सम्म अविश्वासको प्रस्ताव ल्याउन पाइदैन। त्यसो हुँदा कांग्रेसको आग्रहमा उनलाई हटाउन लगाम एमालेको हातमा छ। संविधान अनुसार सरकारमा रहेको दल विभाजित भएमा वा सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने ब्यबस्था छ। त्यसकारण लामा लाई हटाउने यही अस्त्र बाँकी रहने छ।
मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए । उनी संसदीय दलको निर्वाचनमा पराजित भएका थिए । उनलाई दलको नेताका लागि भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँले पराजित गरेका थिए ।

