चीनबाट आएको बाढीले त्रिशूली र भोटेकोसीमा खतरा, तीन जिल्लाका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

Categories:

-

रसुवा, १४ साउन । चीनतर्फबाट आएको बाढीले त्रिशूली र भोटेकोसी नदीमा खतरा बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट र धादिङका नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले बुधबार बिहान एक सूचना जारी गर्दै गोसाइँकुण्ड गाउँपालिका–२ ल्हेन्दे खोलाबाट आएको बाढीको बहाव अझै उच्च रहेको जनाएको छ। जानकारीअनुसार, बुधबार बिहान करिब २ बजे मित्रराष्ट्र चीनतर्फबाट आएको ठूलो बाढीले रसुवाको टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको हो।

“अहिले पनि बाढीको सतह उच्च नै रहेकाले त्रिशूली र भोटेकोसी नदी आसपास बसोबास गर्ने नागरिकहरूलाई सजगता अपनाउन अनुरोध छ,” प्राधिकरणको सूचनामा भनिएको छ, “खोलामा माछा मार्न जाने, बाढीमा बगेर आएका काठदाउरा टिप्न जानेजस्ता गतिविधिबाट जोगिनुहोला।”

प्राधिकरणका अनुसार यस्ता बाढीहरू आकस्मिक रूपमा नदीमा पानीको सतह एक्कासि बढाउने भएकाले तटीय क्षेत्रका बासिन्दाले रातको समयमा नदी किनार ननजिकिने, घर छाड्नुपर्ने अवस्था भएमा सुरक्षित स्थानमा सार्ने लगायतका सावधानी अपनाउनुपर्ने बताइएको छ।

यसअघि पनि गत असार २५ गते ल्हेन्दे खोलाबाट आएको भीषण बाढीले जनधनमा ठूलो क्षति पुर्याएको थियो। त्यसबेला धेरै घरपरिवार विस्थापित हुन पुगेका थिए भने गोठ, खेतबारी र पूर्वाधारमा समेत क्षति पुगेको थियो।

हालसालै मनसून सक्रिय भइरहेका बेला चीनतर्फका भूभागमा लगातार वर्षा भइरहेकाले यस्ता बाढी पुनः दोहोरिन सक्ने भन्दै प्राधिकरणले स्थानीय प्रशासन, सुरक्षा निकाय र नागरिकहरूलाई आपतकालीन तयारी अवस्थामा रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य