बागमतीको बहुमत बानियाँतिर, खानेपानीमन्त्री खड्काले दिए राजीनामा

-

हेटौंडा, साउन १३ ।नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि आज शुक्रबारदेखि मत विभाजन प्रक्रिया औपचारिक रूपमा सुरू भएको छ। लामो समयदेखिको आन्तरिक रस्साकस्सीपछि अन्ततः बहुमत पक्ष इन्द्र बानियातिर उभिएको स्पष्ट भएको छ।

अविश्वासको प्रस्तावमा प्रारम्भिक रूपमा हस्ताक्षर गरेका २१ जना सांसदमध्ये एक सांसद पछि लामा पक्षमा फर्किए पनि, खानेपानी मन्त्री श्यामकुमार खड्काले पदबाट राजीनामा दिँदै इन्द्र बानियाको पक्षमा उभिने घोषणा गरेका छन्। उनले नेपाल प्रेससँग भने, “प्रकृयाअनुसार मुख्यमन्त्रीलाई संसदीय दलको नेताबाट हटाउनुपर्ने भयो। विपक्षमा मतदान गर्ने भएकाले मैले राजीनामा बुझाएको हुँ।”

यसैबीच, अविश्वास प्रस्तावमा हस्ताक्षरकर्तामध्ये एक सांसद माया श्रेष्ठले आफ्नो हस्ताक्षर किर्ते भएको दाबी गरेकी छन्। अर्की सांसद मीना पराजुलीले पनि बानियाको पक्षबाट सार्वजनिक गरिएको विज्ञप्ति आफूले ननिकालेको बताउँदै विवाद झनै चुलिएको थियो। तर अन्ततः पराजुलीसहित दुवै सांसद बानियाकै पक्षमा खुलेर उभिएपछि लामाको समूह कमजोर देखिएको छ।

३७ सदस्यीय संसदीय दलमा बानियाको पक्षमा २१ जना सांसद उभिएका छन्, जबकि लामाको पक्षमा १६ सांसद मात्र रहेका छन्। बानियाले कांग्रेसको प्रदेश नेताको हैसियतमा बहुमत जुटाउन सफल भएको भन्दै अब मुख्यमन्त्रीको जिम्मेवारी लिने सुनिश्चित भएको स्रोतहरूले बताएका छन्।

संसदीय दलको बैठक आज बिहान १० बजे बोलाइएको थियो र केहीबेरअघि औपचारिक रूपमा सुरू भइसकेको छ। यस बैठकपछि बानियालाई संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य