माओवादी फुटका सँघारमा, शर्माको एक भाषणले हल्लियो पार्टी

-

काठमाडौँ,१३ साउन ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको पछिल्लो आलोचनात्मक अभिव्यक्तिले पार्टीभित्र तरङ्ग ल्याएको छ। साउन ६ गते पुष्पलाल स्मृति दिवसमा शर्माले पार्टीभित्र ‘नोकर शाही केन्द्रीयता’ र ‘सामन्ती निरङ्कुशता’ हाबी भएको टिप्पणी गरेपछि नेताहरू आक्रोशित बनेका छन्।

शर्माले पार्टी नेतृत्व जनताको प्रश्न सुन्न तयार नरहेको, जनवाद समाप्त भइसकेको र कम्युनिस्ट पार्टीहरू सामन्ती झुन्डजस्तो बन्दै गएको दाबी गरेका थिए। साथै, उनले पटक–पटक कम्युनिस्टहरूको नेतृत्वमा बनेको सरकारहरूले जनताको पीडा हल गर्न नसकेको आरोप पनि लगाएका थिए।

शर्माको भनाइले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित कटु आलोचना गरेको बुझिएको नेताहरूको टिप्पणी छ। त्यसैले पार्टीभित्र स्पष्टीकरण माग्ने र कारबाही गर्नुपर्ने आवाज तीव्र बनेको छ।

‘उहाँको अभिव्यक्ति गम्भीर छ, कारबाही योग्य खालको,’ माओवादीका एक पदाधिकारीले भने, ‘स्थायी समिति बैठकमा छलफल गरेर निर्णय गरिनेछ।’

यसबिच प्रचण्डले पनि साउन ७ गते समाजवादी मोर्चाको कार्यक्रममा अप्रत्यक्ष रूपमा जवाफ दिँदै, फरक मतप्रति उदारता आफूभित्रको कमजोरी भएको स्वीकार गरे। उनले भने, ‘मैले कसैलाई कारबाही गरिनँ, आलोचना सहने क्षमता राखेको छु।’

शर्मा निकट नेताहरू भने उनको बचाउमा उत्रिएका छन्। सांसद सुदन किराँतीले पार्टी रूपान्तरणका लागि प्रश्न उठाउनु जरुरी भएको बताए। ‘संघर्ष गर्दा जस्तोसुकै कारबाही भोग्न तयार छौँ, तर पार्टी विभाजन गर्दैनौँ,’ उनले भने।

साउन १६ गते बस्ने स्थायी समिति बैठकमा विषयलाई लिएर गहन छलफल हुने तयारी छ। प्रवक्ता अग्नि सापकोटाका अनुसार, उक्त बैठकमा आन्तरिक तथा बाह्य परिस्थितिबारे विस्तृत छलफल गरिनेछ।

शर्माको अभिव्यक्तिपछि पार्टीभित्र गम्भीर बहस सुरु भएको छ। एकातर्फ नेतृत्वमाथि प्रश्न उठाउनेहरू छन् भने अर्कोतर्फ त्यस्ता अभिव्यक्तिले पार्टी एकतालाई चुनौती दिएको ठान्नेहरू पनि छन्। अबको निर्णयले माओवादी केन्द्रको आगामी दिशा तय गर्ने सम्भावना बलियो छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य