काठमाडौं,१२ साउन ।साउन १६ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक गरिएको छ। गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको मर्मस्पर्शी कथा प्रस्तुत गरेको छ।
रामचन्द्र काफ्लेको स्वर र संगीतमा रहेको गीतमा चर्चित साहित्यकार अमर न्यौपानेको शब्द समावेश छ। गीतले आमाको सम्झना, परदेशको पीडा र फर्कन नसक्ने बाध्यता मार्मिक ढंगले उजागर गर्छ। भिडियोमा श्रमिकहरूलाई विदेशमा भोग्नुपरेको मानसिक, शारीरिक यातना र बन्धक अवस्थाको जीवन्त चित्रण गरिएको छ।
गीत हेरेपछि फिल्मले वैदेशिक श्रम जीवनको यथार्थ प्रतिबिम्बित गर्ने संकेत मिलेको दर्शकहरूले बताएका छन्। ‘रियाल रिङ्गेट’ नाम नै प्रतीकात्मक रहेको छ। ‘रियाल’ साउदी अरब र कतारको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको। यी दुई श्रम गन्तव्य मुलुकका मुद्राको संयोजनबाट फिल्मले नेपाली श्रमिकको अवस्थालाई जोडेको देखिन्छ।
फिल्मको निर्देशन विभोर पोखरेलले गरेका छन्। प्रमुख भूमिकामा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर र विशाल थापा छन्।
प्रदीप भारद्वाजको लेखन रहेको फिल्म गगनलाल प्रधानले निर्माण गरेका हुन्। निर्माताका अनुसार फिल्मले दर्शकलाई मनोरञ्जनका साथै सामाजिक सन्देश पनि दिनेछ।
गीत ‘आमा’ सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको उत्सुकता थप बढेको छ। यथार्थपरक विषयवस्तु, गहिरो भावनात्मकता र जीवन्त अभिनयले ‘रियाल रिङ्गेट’ लाई यस वर्षको बहुप्रतिक्षित नेपाली फिल्म बनाएको छ।


