काठमाडौं, २२ असार । राजधानी निवासी महिलामाझ आयोजना गरिएको सौन्दर्य प्रतियोगिता ‘क्यापिटल क्विन नेपाल–२०२५’ को उपाधि जोरपाटीकी फेसन डिजाइनर करुणा भुजेल श्रेष्ठले जितेकी छन्। प्रतियोगिता शनिबार ललितपुरस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न भएको हो।
उपाधिसँगै करुणाले फेसन एन्ड इन्टरटेन्मेन्ट इन्टरनेसनल अवार्ड–२०२६ का लागि लन्डनमा सहभागी हुने इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छन्। प्रतियोगितामा अनिता लामा फस्ट रनरअप र सीता राई सेकेन्ड रनरअप बने।
हिमालय म्युजिकको आयोजनामा सम्पन्न उक्त प्रतियोगिता नवौँ संस्करण हो। कार्यक्रममा राजधानीका विभिन्न पेसामा संलग्न दर्जनभन्दा बढी महिलाहरू सहभागी भएका थिए। उनीहरूले करिब तीन साता लामो प्रशिक्षणमा व्यक्तित्व विकास, बोलीचाली, क्याटवाक, फोटोसुट, भिडिओसुट, स्टेज प्रस्तुति जस्ता विषयमा तालिम लिएका थिए।
प्रतियोगीहरूको ग्रुमिङ चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिइन्। उनले ओपनिङ परफमेन्समा प्रतियोगीहरूलाई आकर्षक नृत्यमार्फत प्रस्तुत गराएकी थिइन्।
कार्यक्रममा बेस्ट ट्यालेन्ट रञ्जना सिंह, बेस्ट पर्सनालिटी माया तामाङ, बेस्ट फोटोजेनिक तथा बेस्ट ड्रेस करुणा भुजेल, मोस्ट स्मार्ट अनिता लामा, मोस्ट डिलिजेन्ट सीता राई लगायत विभिन्न १५ विधामा सबटाइटल अवार्ड पनि प्रदान गरिएको थियो।
निर्णायक मण्डलमा अभिनेत्री सुष्मा अधिकारी, फेसन डिजाइनर सुक्निता चौलागाईं, मिस्टर ह्यान्डसम नेपाल २०१९ अभिषेक खड्का, क्यापिटल क्विन नेपाल २०१६ लिला राई, तथा मिसेस डिभा नेपाल २०२५ संगीता अधिकारी रहेका थिए।
आयोजकका अनुसार, महिलाहरूको आत्मविश्वास, प्रतिभा र सामाजिक पहिचान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।


