काठमाडौं, १२ साउन। गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका विभिन्न भूभागमा बाढी र पहिरोको प्रकोप देखिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कम्तीमा ८ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडक एकतर्फी मात्र सञ्चालनमा रहेका छन्।
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग पूर्ण अवरुद्ध भएको छ। त्यस्तै, रसुवाको गोसाईकुण्ड गाउँपालिकामा नेपाल–चीन सीमा जोड्ने पुलमा क्षति पुगेको छ, जसका कारण आवागमन पूर्णरूपमा ठप्प भएको छ। रसुवाकै पासाङ ल्हामु राजमार्ग र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको अरनिको राजमार्गसमेत पहिरोका कारण बन्द भएको जनाइएको छ।

त्यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिकाबाट जाने मध्यपहाडी राजमार्गमा पहिरो खसेपछि सो मार्ग पूर्णरूपमा बन्द छ। जाजरकोट डोल्पा जोड्ने भेरी करिडोर (रुकुम पश्चिम, आठबिसकोट नगरपालिका), हुम्लाको कर्णाली करिडोर (सिमकोट गाउँपालिका), र जाजरकोटको छेडगाड नगरपालिकामा रहेको मध्यपहाडी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध छन्।
यससँगै, काठमाडौंको टोखा हुँदै नुवाकोटतर्फ जाने सडक, बाग्लुङको कालिगण्डकी करिडोर, नवलपरासीपूर्व गैँडाकोट नगरपालिकाको कालिगण्डकी खण्ड, मुस्ताङको बेनी–जोमसोम सडक (थासाङ गाउँपालिका) र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
प्रहरीको अनुसार तीव्र वर्षा रोकिएपछि मात्रै सडक खुलाउने प्रयास थालिनेछ। अवरुद्ध क्षेत्रहरूमा प्रहरी, सेना तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन, वैकल्पिक मार्ग प्रयोग गर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न प्रहरीले आग्रह गरेको छ।



