काठमाडौँ, साउन १२ — गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरी माई मन्दिर नजिकैको खोलामा बाढी आएपछि फसेका पाँच जनाको सोमबार बिहान नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
बिहान करिब ८ बजेको समयमा तीर्थ गर्न आएका चार जना भारतीय नागरिक र एक नेपाली युवक सुन्दरी माई मन्दिर नजिकैको खोलामा नुहाइरहेका थिए। यति बेला अचानक पानीको बहाव तीव्र भएपछि उनीहरू खोलाको बिच भागमा फसेका थिए। चारैतिरबाट खोलाको पानीले घेरेपछि उनीहरूले ज्यान जोगाउन ठुला डुङ्गामा चढेर सहायता पर्खिरहेका थिए।
स्थानीयवासी र सुरक्षाकर्मीलाई खबर गरिएपछि नेपाली सेनाको श्री चन्दननाथ गणबाट खटिएको उद्धार टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो। सेनाको टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा डोरीको माध्यमबाट ती सबै व्यक्तिहरूलाई सकुशल उद्धार गरेको छ।
उद्धार गरिएका पाँचै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। प्राथमिक स्वास्थ्य परीक्षणपछि उनीहरूलाई सुरक्षित स्थानमा लगिएको छ।
गएको केही दिनयता निरन्तर वर्षाका कारण उपत्यकाका नदी तथा खोलानालामा पानीको सतह बढ्दै गएको छ। विशेष गरी तीर्थस्थलहरू नजिकको खोलामा नुहाउनेक्रममा जोखिम बढेको भन्दै सुरक्षाकर्मीहरूले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
स्थानीय प्रशासनले समेत सुन्दरीजल क्षेत्रको सुरक्षालाई ध्यानमा राख्दै सचेतनामूलक सूचना जारी गर्ने र आवश्यक स्थानमा उद्धार उपकरणको व्यवस्था गर्ने तयारी थालेको जनाएको छ।
बर्खा याममा खोलानालामा नुहाउन जाँदा विशेष सावधानी अपनाउन सुरक्षा निकाय र स्थानीय तहले आग्रह गरेका छन्।


