ओलीको निर्देशनपछि एमालेभित्र चुलियो शक्ति सङ्घर्ष, भण्डारीको सक्रियताले कोसी–बागमती तनावग्रस्त

-

काठमाडौँ, साउन १२ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता रोक्न निर्देशन दिएसँगै पार्टीभित्रको शक्ति सङ्घर्ष झनै चुलिएको छ। साउन ८ गते राति बालुवाटारमा आयोजित ५ घन्टे गोप्य बैठकमा सातै प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई बोलाएर ओलीले भण्डारीको समानान्तर गतिविधि तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए।

बालुवाटार स्रोतका अनुसार राति १०:४० बजे सुरु भएको बैठक बिहान ३:३० बजे मात्रै टुङ्गिएको थियो। बैठकमा सहभागी नेताहरूका अनुसार ओलीले ‘गुट सिद्ध्याइएन भने पार्टी सिद्धिन्छ’ भन्ने चेतावनीसहित प्रदेशदेखि वडा तहसम्म सक्रिय रणनीति बनाउन निर्देशन दिएका थिए। त्यसको दुई दिनपछि एमालेले राष्ट्रिय युवा सङ्घ लुम्बिनी अध्यक्ष सुरज खरेललाई निष्कासन गरेको छ। खरेलले सामाजिक सञ्जालमा अध्यक्ष ओलीको आलोचना गर्दै भण्डारीको पक्षमा धारणा राखेका थिए।

ओलीको यो निर्देशन पछिल्लो समय भण्डारीले झापाबाट सुरु गर्न खोजेको राजनीतिक अभियानको प्रतिक्रियाका रूपमा आएको हो। पार्टी सदस्यता नवीकरणको विषयमा असहमति जनाउँदै भण्डारीले एमाले नेतृत्वमाथि आक्रोश पोख्दै सार्वजनिक रूपमा आफू एमालेकै सदस्य भएको घोषणा गरेकी छन्। तर, भण्डारीको सक्रियता संस्थापन पक्षका लागि चुनौती बन्दै गएको एमाले नेताहरू स्विकार्छन्।

बैठकमा अधिकांश नेताहरूले भण्डारीको प्रभाव कोसी र बागमती प्रदेशमा विशेष देखिएको रिपोर्टिङ गरेका थिए। कोसीमा उनका समर्थक नेताहरू सक्रिय छन् भने बागमतीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज आनन्द पोखरेल, काठमाडौँ अध्यक्ष दीपक निरौला लगायतकानेताहरू खुलेर भण्डारीको पक्षमा उभिएका छन । मधेस, गण्डकी र सुदूरपश्चिममा भने भण्डारी पक्ष कमजोर रहेको ओलीलाई रिपोर्टिङ गरिएको थियो।

पार्टीको विधान महाधिवेशन भदौ २०–२२ मा हुने तय भएको छ। त्यसअघि नै प्रतिनिधि छनोट र संगठन सुदृढीकरणका नाममा भण्डारी पक्षलाई कमजोर पार्ने रणनीति एमालेले अघि सारेको छ। ओलीले स्पष्ट शब्दमा ‘बाहिरको सानो हावाको झोँका एमालेलाई असर पार्दैन’ भन्दै नेताहरूलाई सतर्क र एकताबद्ध हुन निर्देशन दिएका छन्।

एमालेभित्र भण्डारीको सम्भावित नेतृत्वप्रति चासो राख्ने नेताहरूको सङ्ख्या बढ्दै जाँदा ओलीको पकडलाई चुनौती दिने अवस्था बनेको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य