काठमाडौँ,११ साउन । प्रतिनिधि सभा सभामुख देवराज घिमिरे तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्विट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् । अन्तर व्यवस्थापिका संघ (आईपियु) र संयुक्त राष्ट्रसंघद्वारा संयुक्त रूपमा आयोजना गरिने सभामुखहरूको छैटौं विश्व सम्मेलनमा सहभागी हुन उहाँ आइतबार साँझ स्विट्जरल्याण्ड प्रस्थान गर्नुभएको हो ।
सभामुख घिमिरेसँगै प्रतिनिधिमण्डलमा नेकपा (एमाले) निकट परिवार दलका सांसद एकनाथ ढकाल र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी छन् । टोली काठमाडौँ विमानस्थलबाट साँझ ६:४५ बजे कतार एअरवेजको उडान क्युआर ६४७ बाट दोहा हुँदै जेनेभातर्फ प्रस्थान गरेको हो ।
संसद सचिवालयका अनुसार साउन १४ देखि १७ गतेसम्म जेनेभामा आयोजना हुने सम्मेलनमा सभामुख घिमिरेले तीनवटा फरक विषयमा मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ । त्यसैगरी सम्मेलनको क्रममा उनले बेलायत, स्विट्जरल्याण्ड, माल्टा, इजरायल, भुटान लगायत मुलुकका सभामुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
स्विस संसदद्वारा जुलाई २९ मा आयोजना हुने रात्रिभोज कार्यक्रममा समेत नेपाली प्रतिनिधिमण्डलको सहभागिता हुने छ । भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलले लोकतान्त्रिक अभ्यास, सहकार्य र संसदीय कूटनीति प्रवर्द्धन गर्ने उद्देश्य राखेको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिमण्डलले भ्रमण सम्पन्न गरी साउन १८ गते आइतबार बिहान पौने ९ बजे कतार एअरवेजको क्युआर ६४८ मार्फत काठमाडौँ फर्किने कार्यक्रम छ ।


