कपन साहित्य समाजले नियमित मासिक कार्यक्रम गर्ने

Categories:

-

काठमाडौं,११ साउन । बुढानीलकण्ठ नगरपालिकाभित्र क्रियाशील एक पुरानो साहित्यिक संस्था कपन साहित्य समाजले नियमित मासिक साहित्यिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। अबदेखि समाजले हरेक महिनाको पहिलो शनिबार आफ्नो स्थायी भवनमा साहित्यिक कार्यक्रम आयोजना गर्नेछ।

संस्थाको बुढानीलकण्ठ–१०, आकाशेधारास्थित ‘यात्री स्मृति कक्षमा कार्यक्रम सञ्चालन हुने संस्थाका महासचिव लक्ष्मण अधिकारीले बताए । यसबारे निर्णय शनिबार बसेको बैठकले गरेको हो। संस्थाका अध्यक्ष गणेशकुमार मिश्रको अध्यक्षतामा सम्पन्न बैठकमा आगामी कार्ययोजनाबारे समेत विस्तृत छलफल भएको थियो।

बैठकमा संस्थाका उपस्थित सदस्यहरूले विगत केही महिनादेखि कार्यक्रम रोकिएकोमा चिन्ता व्यक्त गर्दै, नियमितता ल्याउनुपर्ने आवश्यकता औँल्याएका थिए। त्यसैको आधारमा अब प्रत्येक महिनाको पहिलो शनिबार कार्यक्रम तय गरिएको हो।

अध्यक्ष मिश्रले बैठकमा बोल्दै साहित्यिक कार्यक्रमलाई समयानुकूल, समावेशी र सिर्जनात्मक बनाउने प्रतिवद्धता व्यक्त गरे। “स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने, नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्ने र विचार आदान–प्रदान गर्ने थलोका रूपमा समाजलाई अझ प्रभावकारी बनाइनेछ,” मिश्रले भने।

कार्यक्रममा कविता, गजल, मुक्तक, कथा, निबन्ध, समीक्षा लगायत विधाहरू समेटिनेछ। साथै, समय–समयमा अतिथि सिर्जनाकर्मीहरूलाई पनि निमन्त्रणा गरिने र युवा र नवप्रतिभालाई प्रस्तुतीको अवसर दिने व्यवस्था मिलाइने समाजले जनाएको छ।

बैठकले आगामी कार्यक्रमको व्यवस्थापनका लागि तीन सदस्यीय संयोजक समिति समेत गठन गरेको छ। संयोजकमा त्रिलोचन आचार्य रहेका छन्।

कपन साहित्य समाजले अघिल्ला वर्षहरूमा पनि नियमित कार्यक्रम, काव्य गोष्ठी, पुरस्कार वितरण, पुस्तक विमोचन जस्ता गतिविधि सञ्चालन गर्दै आएको छ। यद्यपि, पछिल्ला केही महिनायता कार्यक्रम स्थगित हुँदै आएका थिए। अब भने नियमितता दिने निर्णयसँगै स्थानीय साहित्यिक माहोल फेरि सक्रिय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य