काठमाडौं ११ साउन। यस अघि कुनै विवाद नसुनिएका दुई युवा माथि एमाले भित्र कारबाही गरिएको छ। जसरी पूर्व राष्ट्रपति विद्या भण्डारीलाई ‘सम्मानको’ शीर्षक दिएर अपमान गर्दै एमालेमा प्रवेश निषेध गरियो त्यसै गरी अरूमाथि पनि यस्तै अपमान गर्ने क्रम बढेको छ।
हालै एमाले भित्र दुई युवालाई कारबाही गरिएको विषयले यस बेला चर्चाको विषय थियो। उनीहरू माथि जे शीर्षकको अभियोग लगाए पनि वास्तविक अभियोग भने पूर्व राष्ट्रपति विद्या भण्डारी ठिक भन्नु । यसलाई लिएर एमाले भित्र गम्भीर प्रश्न उठ्न थालेको छ – के एमालेमा विद्या भण्डारी ठिक भन्नु केपी ओली बेठिक भन्नु हो र ? हिजो एकै स्वरमा ओली र भण्डारी भनेर सिकाउँदा त्यही लय टिप्दै विद्या भण्डारी ठिक भन्ने कार्यकर्ता माथि कारबाही गर्ने कु बुद्धि एमालेमा कसले भर्दै छ ? यो प्रश्न गम्भीर बनेको छ।
विद्या भण्डारी ठिक भने बापत एमालेका दुई युवाले कारबाही भोग्नु परेको छ। नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपालबाट निलम्बनमा परेका २ जना नेताले विद्या भण्डारीलाई समर्थन गरेका कारण आफुलाई कारबाही भएको दाबी गरेका छन् ।
तर युवा संघले भने उनीहरूलाई कुनै नेता वा गुटमा लागेको कारण नभई अनुशासन र ठगीको उजुरीका आधारमा निलम्बन गरिएको जनाएको छ । युवा संघले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवन्तिका राईलाई निलम्बन गरेको छ । दुवै जनाले आफूहरूले विद्या भण्डारी पक्षलाई समर्थन गरेका कारण कारबाही भएको दाबी गरेका छन् ।
खरेलमाथि राष्ट्रिय युवा सङ्घको महाधिवेशनमा अध्यक्ष मण्डलका नेताहरूमाथि दुर्व्यवहार र अश्लील गालीगलौज गरेको तथा बुबा मेयर भएका आडमा आर्थिक अपराध तथा गुण्डागर्दी गरेको आरोप छ । उनका बुबा ध्रुव खरेल रुपन्देहीको देव दह नगरपालिकाका मेयर छन् ।
त्यस्तै इलामकी युवन्तिका राईलाई भने सरकारी कोटामा विदेश पठाइदिने भनी विभिन्न व्यक्तिसँग पैसा उठाएको उजुरीका आधारलाई शीर्षक दिएर निलम्बन गरिएको छ ।
कारबाहीपछि युवन्तिकाले भनिन् – म संसारको सर्वोच्च शिखर चढेर आएकी हुँ । मेरो लागि सानातिना चुनौती, षड्यन्त्र र तगाराका थुम्काहरू त केवल एक जम्पको दूरीमा छन् । मेरो उचाइ मापन गर्न खोज्नेहरूले पहिले आफू कहाँ उभिएका छन् भन्ने बुझुन् ।
यसैबिच राष्ट्रिय युवा सङ्घका उपाध्यक्ष महाराज गुरुङले केही दिनयता कतिपय व्यक्तिले आफ्ना गल्ती ढाकछोप गर्न हिँड्दा हिँड्दै ठेस लागे पनि विद्या भण्डारी पक्षमा उभिएका कारण षडयन्त्र भएको भन्ने भाष्य बनाउन थालेको बताए । जबकि विद्या भण्डारी निवास भँगाल नटेकेका र कुनै कार्यक्रममा नगाएकाहरूले पनि यस्तो भाष्यको सहारा लिन थालेका पार्टी पङ्क्ति र मिडिया समेतले वास्तविकता बुझ्नुपर्ने गुरुङको दाबी छ ।

