एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी फर्कन नदिने

-

काठमाडौं,७ साउन । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा पुनः फर्किने ढोका बन्द गरिदिएको छ। पार्टीको केन्द्रीय समिति बैठक समापनको बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीप्रति कडा धारणा राख्दै उनको सदस्यता नवीकरण अस्वीकार गरिएको स्पष्ट पारेका हुन्।

बैठकमा सहभागी एक नेताका अनुसार ओलीले भण्डारीले पत्रकार सम्मेलन गरेर पार्टी नेतृत्वको सुझावको अपमान गरेको भन्दै आक्रोश व्यक्त गरे। “अध्यक्षले दिएका सुझावको जवाफ पर्खिने अवस्थामा पत्रकार बोलाएर प्रतिक्रिया दिँदा बैठकलाई नै चुनौती दिएको मानिएको छ,” ती नेताले भने, “त्यसैले भण्डारीज्यूलाई अब पार्टीमा फर्किन आग्रह नगरिएको हो, बरु पूर्वराष्ट्रपतिको गरिमा अनुसार सल्लाहकार वा अभिभावकको भूमिका निर्वाह गर्न भनिएको छ।”

ओलीको प्रस्तावलाई केही नेताहरूले विरोध गरेका थिए। उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। तर अन्ततः ओलीको प्रस्ताव बहुमतले पारित भएको छ।

पूर्वराष्ट्रपति भण्डारी पछिल्लो समय सक्रिय राजनीतिमा फर्किने संकेत दिँदै आएकी थिइन्। उनले सरकारी सुविधा नलिने घोषणा गर्दै विभिन्न भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागिता जनाउँदै आएकी थिइन्। मंगलबार मात्रै उनले आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर ओलीप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन्।

भण्डारी एमालेका स्वर्गीय नेता मदन भण्डारीकी पत्नी हुन्। उनी दुई कार्यकालसम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेकी छन्। राष्ट्रपतिको कार्यकाल सकिएपछि उनी पुनः पार्टी राजनीतिमा फर्किन इच्छुक देखिएकी थिइन्।

ओलीको निर्णयपछि अब भण्डारी कुन बाटो रोज्नेछिन् भन्ने चासो बढेको छ। पार्टीबाट निष्क्रिय राख्ने निर्णयपछि उनी विद्रोही धारमा जाने कि नयाँ रणनीति अपनाउने भन्ने विषय राजनीतिक वृत्तमा बहसको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य