भंगालमा पत्रकार बोलाएर भण्डारीले के भनिन् ?

-

बालकुमार नेपाल /काठमाडौँ,६ साउन । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा पूर्ण रूपमा फर्किएको घोषणा गर्दै अब पछि हट्ने अवस्था नरहेको स्पष्ट पारेकी छन्।

आफ्नो निवास भंगालमा मङ्गलवार सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले पछिल्लो समय एमालेभित्र महाधिवेशनबिनै नेतृत्वको बहस चलाएर कार्यकर्तालाई विभाजित गर्ने प्रयास भइरहेको आरोप लगाइन्। उनले आफू पछाडि हट्ने पक्षमा नरहेको भन्दै कार्यकर्तामाथि भइरहेको मानसिक आतङ्क बन्द गर्न चेतावनी दिइन्।

‘म अघि बढिसके, खुट्टा कमाउँदिनँ,’ भण्डारीले भनिन्, ‘मेरो पक्षमा बोल्नेहरूलाई आतङ्कित पार्न खोजिएको छ। यस्तो प्रवृत्ति बन्द हुनुपर्छ।’

भण्डारीले पार्टीभित्र जिल्ला र प्रदेश स्तरसम्म समूह बनाएर कार्यकर्तालाई दबाब दिने, बोल्न नदिने र प्रतिकार गरेमा कारबाही गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति गम्भीर असन्तुष्टि जनाइन्।

‘दल चाहिँ अनैतिक अखडा हो? उच्च नैतिकता वान व्यक्ति दलमा आयो भने दल पनि नैतिक हुन सक्छ,’ उनले भनिन्। कार्यकर्तालाई ‘टेरर’ गर्ने शैली सही नभएको भन्दै उनले नेतृत्वप्रति कटाक्ष गरिन्।

उनले आफू कठिन समयदेखि पार्टी र महिला आन्दोलनमा सक्रिय रहँदै मुलुकको नेतृत्व गरेको उल्लेख गर्दै अनावश्यक विवाद सिर्जना गरेर आफ्नो राजनीतिक हैसियत कमजोर पार्न खोजिएको आरोप समेत लगाइन्।

भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो सदस्यता नवीकरण र सक्रिय भूमिकाको विषयमा कुराकानी भइसकेको जानकारी दिइन्। नयाँ वर्षमा सार्वजनिक गरेको अभिव्यक्तिपछि ओली रिसाएकोसमेत उनले खुलासा गरिन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य