सिंहलाई देउवाको आग्रह :तत्काल सरकारको आलोचना नगरौँ

-

काठमाडौँ, ६  साउन ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकारको कामकारबाहीमा तत्काल प्रश्न उठाएर आलोचना नगर्न पार्टीका नेताहरूलाई आग्रह गरेका छन् । मङ्गलवार देउवा  निवास बुढानीलकण्ठमा भेट्न आएका पार्टीका पाँच नेतासँग भएको छलफलमा सभापतिले सरकारले बिस्तारै सुधार गर्दै जाने विश्वास व्यक्त  गरे  ।

यसअघि सोमबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा नेपाली काँग्रेसका सात जना नेताबिच सरकारको कामकारबाही र गठबन्धनबिचको ७ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको थियो। सो बैठकमा प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा शशाङ्क कोइराला, गोपालमान श्रेष्ठ, विजय गच्छदार र डा प्रकाश शरण महत सहभागी थिए।

आजका भेटमा नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा प्रकाश रण महत र गोपालमान श्रेष्ठ देउवालालाई भेट्न पुगेका थिए। छलफलमा पार्टीका नेताहरूले संविधान संशोधनदेखि मन्त्रीहरूमा देखिएका भ्रष्टाचारको आरोपसम्मका विषयमा पार्टीले आफ्नो धारणा सार्वजनिक गर्न ढिला गर्नु  हानिकारक हुने  बताएका थिए।

तर सभापति देउवाले सरकारलाई असर पर्ने गरी तत्काल आलोचना नगर्न आग्रह गर्दै सरकारले बिस्तारै सुधार गर्दै जाने विश्वास दिलाएको एक नेताले जानकारी दिए। “दाइले भन्नुभयो, अहिले सरकारमा प्रश्न उठाउनुले समस्या बढाउँछ, बिस्तारै सुधार हुँदै जानेछ,” उक्त नेताले भने।

आजको छलफलमा डा शेखर कोइरालाको सक्रियताबारे कुनै कुरा नउठेको भेटमा सहभागीहरूको दाबी छ ।

देउवासँग भेट्न आएका यी सबै नेता पार्टीको १४औँ महाधिवेशनमा सभापतिमा देउवालाई सहयोग गरेका नेताहरू हुन्। तर आगामी १५औँ महाधिवेशनमा देउवा सभापतिमा उम्मेदवार नहुने घोषणा गरेपछि यी नेताहरूले देउवालाई अहिले नै  उत्तराधिकारी तोक्न दबाब दिँदै आएका छन्। यस विषयमा सभापति देउवाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैन।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य