काठमाडौँ, ६ साउन — प्रविधिमैत्री शासन प्रणालीको अभ्यास गर्दै बुढानीलकण्ठ नगरपालिकाले कर्मचारी व्यवस्थापनमा महत्वपूर्ण सुधारको थालनी गरेको छ। सूचना प्रविधि शाखाको पहलमा हाल नगरपालिका अन्तर्गतका २५ वटा कार्यालयमा पूर्णतः डिजिटल ई-हाजिरी प्रणाली लागू गरिएको हो।
नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, विभिन्न शाखा कार्यालयहरू, स्वास्थ्य संस्था र नगर अस्पतालजस्ता निकायमा कार्यरत कर्मचारीहरूको हाजिरी अब अनलाइन प्रणालीमार्फत हुने व्यवस्था मिलाइएको छ। यस प्रणालीमा प्रत्येक कर्मचारीको व्यक्तिगत प्रोफाइलसमेत अद्यावधिक गरिएको छ जसअनुसार कर्मचारीको उपस्थिति बिदा विवरण तथा काम काजसम्बन्धी सम्पूर्ण अभिलेख एकीकृत रूपमा संकलन हुनेछ।
सूचना प्रविधि शाखाका अनुसार उक्त हाजिरी प्रणाली बिहान १०:१५ बजे देखि बेलुका ३:४५ बजेसम्म मात्र खुला रहने गरी डिजाइन गरिएको छ। तोकिएको समयभित्र हाजिरी नगरेमा प्रणालीले स्वचालित रूपमा अनुपस्थितको रूपमा तथ्याङ्क संकलन गर्छ।
सूचना तथा प्रविधि शाखाका सूचना प्रविधि अधिकृत शान्त पौडेलका अनुसार, “प्रविधिको माध्यमबाट पारदर्शिता, जबाफदेहिता र कार्यसम्पादनमा नियमितता कायम गर्नु हाम्रो प्रमुख उद्देश्य हो।”


