पूर्वराष्ट्रपति र प्रधानमन्त्रीबिच के भयो यस्तो? ओलीले कमिटीमा दिए चकित बनाउने खुलासा !

-

काठमाडौँ, ५ साउन — नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भएको भेटवार्ताको विषयमा पार्टी केन्द्रीय कमिटीलाई जानकारी गराएका छन्। सोमबार च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठकमा ओलीले भण्डारीसँगको संवादबारे आफ्ना धारणा सार्वजनिक गरे।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ओलीले भेटमा सरकारका कार्य, एमालेमाथिका प्रहार, र आगामी विधान अधिवेशनबारे समेत खुलेर कुरा राखिएको जानकारी दिए। गौतमका भनाइमा, “अध्यक्षज्यूले पूर्वराष्ट्रपतिसँग सबै कुरा स्पष्ट रूपमा राख्नुभएको रहेछ। आफूले चलाइरहेको अभ्यास र पार्टीको कार्ययोजनाबारे प्रस्ट धारणा दिनुभएको हो।”

भेटको प्रसङ्गमा ओलीले राष्ट्रपतिको पदमा बसेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कनुहुन्छ कि हुँदैन भन्ने विषयमा हाल भइरहेका अभ्यासबारे पनि पार्टीको तर्फबाट स्पष्ट दृष्टिकोण राखिएको उल्लेख गरेका छन्।

साथै, पार्टी सदस्यता सम्बन्धी विवादबारे समेत ओलीले कुनै अस्पष्टता नरहेको बताएका छन्। उनले भने, “सदस्यता सम्बन्धी कुनै विवाद गर्नुपर्ने विषय छैन, केन्द्रीय कमिटीले यसबारे निर्णय गर्नेछ।”

ओलीका अनुसार, पूर्व राष्ट्रपति भण्डारीले पार्टी कार्यालय नआएको दशकभन्दा लामो समय भएको भन्दै आफूलाई कार्यालयमै भेट गर्न आग्रह गरेपछि च्यासलमै भेटवार्ता भएको हो।

भेटपछि कतिपय राजनीतिक अड्कलबाजी बढेको प्रसङ्गमा ओलीले भण्डारीको प्रवक्ताजस्तो भूमिका निर्वाह नगर्न नेताहरूलाई सुझाएका छन्। उनले भनेका छन्, “उहाँले आफू कुन भूमिकामा हुनुहुन्छ भनेर अझै प्रस्ट पार्नुभएको छैन। त्यसैले हामी कसैले पनि उहाँको प्रवक्ता बन्नु हुँदैन।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य