नेपाली काँग्रेसका ‘सात भाइ’को बैठक चाक्सीबारीमा, महाधिवेशन केन्द्रित रणनीति बुन्दै

-

काठमाडौँ, साउन ५ – नेपाली काँग्रेसभित्र वैकल्पिक नेतृत्व खोजीमा रहेका ‘सात भाइ’ नेताहरूको समूह पुनः सक्रिय भएको छ। सोमबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा समूहको बैठक बसेको हो।

बैठकमा पूर्व उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, वर्तमान प्रवक्ता डा. प्रकाश शरण महतसहित सिंह सहभागी रहेको सिंहको सचिवालयले जानकारी दिएको छ।

स्रोतका अनुसार बैठकमा नेपाली काँग्रेसको आगामी महाधिवेशनलाई लक्षित गर्दै छुट्टै रणनीति तय गर्ने विषयमा छलफल भएको छ। ‘सात भाइ’ नेताहरूले महाधिवेशनमा साझा प्यानल बनाएर अघि बढ्ने प्रारम्भिक समझदारी बनाउँदै आएका छन्। यसै सिलसिलामा यसअघि डा. कोइराला र श्रेष्ठ निवासमा पनि बैठक बसेको थियो।

सिंह निवासमा बसेको पछिल्लो बैठकमा सातै प्रदेशमा महाधिवेशन केन्द्रित अन्तरक्रिया गर्ने निर्णय लिइएको जनाइएको छ। नेताहरूको अनुसार, सङ्गठनभित्रको असन्तुष्टि, समावेशिता, नेतृत्व हस्तान्तरण र पारदर्शिता जस्ता मुद्दाहरू उठाउँदै प्रदेशस्तरीय सञ्जाल विस्तार गर्ने रणनीति बनाइएको छ।

काँग्रेसको नेतृत्व तहमा लगातार आलोचना खेपिरहेका वर्तमान सभापति शेरबहादुर देउवाविरुद्ध प्रत्यक्ष उत्रिन नसके पनि यी नेताहरूको धारा देउवा नेतृत्वसँग असन्तुष्ट छ भन्ने बुझिन्छ। पछिल्लो समय संस्थागत सुधार र नेतृत्व परिवर्तनको आवाज तीव्र बन्दै गइरहेका बेला यो समूहको सक्रियता काँग्रेसको आन्तरिक राजनीतिमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

बैठकमा सहभागी नेताहरूले सार्वजनिक रूपमा केही नबोल्दा पनि आन्तरिक तहमा ‘सङ्गठित विकल्प’ निर्माण गर्ने प्रयास गरिरहेको देखिएको छ। अबको महाधिवेशनमा यी नेताहरूले साझा मोर्चा बनाएर पार्टीको नेतृत्वमा दाबी गर्ने सम्भावना बलियो बनेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य