काठमाडौँ, साउन ५ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा उद्योगी–व्यापारीको बढ्दो हस्तक्षेपले देशमा भ्रष्टाचार मौलाएको ठोस टिप्पणी गरेका छन्।
आइतबार बिहान खुमलटारस्थित आफ्नो निवासमा नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले भने, “राजनीतिक पहुँच प्रयोग गरेर आफू अनुकूलको नीति बनाउने प्रवृत्तिले व्यवस्था बिग्रिएको छ।”
उनका अनुसार केही ठुला उद्योगी र व्यापारीहरू रोजगारी सिर्जनाको सट्टा नीति निर्माणमै हस्तक्षेप गर्न लागिपरेका छन्। “पैसा उनीहरूसँग हुन्छ, अनि त्यो देखाएर नेतादेखि कर्मचारीसम्म हुरुक्क हुन्छन्। यस्ता आर्थिक प्रलोभनले नै भ्रष्टाचार झन् विकराल बनाएको हो,” प्रचण्डले स्पष्ट पारे।
यद्यपि, सबै उद्योगीलाई एउटै तराजुमा जोख्न नमिल्ने भन्दै उनले इमानदारिताका साथ आर्थिक विकासमा हातेमालो गर्न आग्रह गरे। “अर्थतन्त्रको मेरुदण्ड नै उद्योग र व्यवसाय हो, त्यसैले तपाईँहरू पनि इमानदार भएर भूमिका निर्वाह गर्नुपर्छ,” उनले जोड दिए।
उनले उद्योग परिसंघका पदाधिकारीहरूलाई राजनीति नगर्न स्पष्ट सन्देश पनि दिए। “तपाईँहरूले राजनीति होइन, उत्पादन र रोजगारीमा ध्यान दिनुहोस्। अनि हामी नीतिगत रूपमा तपाईँहरूलाई साथ दिन तयार छौँ,” प्रचण्डले भने।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले उद्योगी र व्यापारीको सकारात्मक भूमिकाविना मुलुकको आर्थिक समृद्धि सम्भव नरहेको भन्दै भ्रष्टाचारविरुद्धको साझा अभियानमा सहकार्यको आवश्यकता पनि औँल्याए।

