काठमाडौँ, साउन ५ । नेपाली काङ्ग्रेसभित्रको आन्तरिक असन्तोष गहिरिँदै गएको छ। संस्थापन इतर पक्षका नेता डा. शेखर कोइराला पछिल्लो पटक स्पष्ट रूपमा सभापति शेरबहादुर देउवाप्रति असन्तुष्टि जनाउँदै आएका छन्।
असार १६ गते बसेको केन्द्रीय समितिको बैठकमै शेखरले एमालेसँग गरिएको गठबन्धनको औचित्यमाथि प्रश्न उठाएका थिए। ‘के संविधान संशोधनका लागि यो गठबन्धन हो? सातबुँदे सहमतिमा उल्लेख गरिएको संविधान संशोधनको एजेन्डा किन हरायो?’ भन्दै उनले देउवालाई प्रत्यक्ष प्रश्न गरेका थिए।
शेखरकै पहलमा एमालेसँग गठबन्धन गर्न सल्लाह दिइएको भए पनि पछिल्लो समयमा सरकारको कामप्रति उनी निकै असन्तुष्ट देखिएका छन्। सुशासन र संविधान संशोधनजस्ता मुख्य एजेन्डा अलपत्र पर्दै गएपछि उनी देउवाप्रति चिढिएका हुन्।
सत्ता साझेदारीका हिसाबले काँग्रेसका १० मन्त्रीमध्ये तीनजना शेखर समूहका भए पनि शेखरको चासो यति बेला सरकारमा सहभागी गराउनु भन्दा सही मोडमा फर्किने दिशातर्फ देखिएको छ। उनले आफ्ना निकट सांसदहरूसँगको भेटमा मन्त्री फिर्ता बोलाउने विषयमा समेत छलफल गरेका छन्।
पछिल्लो केही दिनयता शेखर कोइरालाले काङ्ग्रेसबाहिरका नेताहरूसँग भेटघाट र संवादको शृङ्खला तीव्र बनाएका छन्। उनी बिहीबार खुमलटार पुगेर पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य भेटमा बसेका थिए। भेटमा शेखरले सरकारप्रतिको असन्तुष्टि पोखेका थिए भने वैकल्पिक गठबन्धनको सम्भावनासमेत छलफलमा आएको प्रचण्ड सचिवालयले जनाएको छ।
भोलिपल्ट शुक्रवार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भंगालमा भेट गरेर उनले आफू सुशासन र विधिको शासनको पक्षमा रहेको भन्दै सहयोगको अपेक्षा गरेका थिए।
त्यसपछि आइतबार शेखरले काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा आफूनिकट सांसदहरूसँग छुट्टै छलफल गरेका थिए। सो बैठकमा केही सांसदले सरकारले जनअपेक्षा अनुसार काम नगरेको भन्दै मन्त्रीहरू फिर्ता बोलाउन सुझाव दिएका थिए। सांसद डा. सुनिल शर्माका अनुसार, मन्त्री फिर्ता बोलाउनेबारे छलफल अगाडि बढिरहेको छ।
यता, देउवा नेतृत्वले भने संस्थापन इतरमा ‘कित्ताकाटको राजनीति’ गरिरहेको भन्दै शेखर पक्षले आलोचना गरिरहेको छ। देउवाले आफ्नै पार्टीभित्रकै गगन थापा र शेखर कोइरालाबिच दूरी बढाउन क्रियाशील रहेको आरोप पनि लागेको छ।
शेखर पक्षमा खुल्दै गएका नेताहरूमा सहमहामन्त्री भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय डिना, बालकृष्ण खाँण, एनपी साउद र मोहन बस्नेतजस्ता प्रभावशाली नेता छन्।
यसरी काङ्ग्रेसभित्र गहिरिँदो आन्तरिक असन्तोषले नयाँ राजनीतिक समीकरणको सङ्केत दिन थालेको छ। शेखरले ‘सानो सानो समूह बनाएर छलफल जारी राख्ने’ बताएका छन् भने उनका सचिव दिनेश थपलियाका अनुसार अब छलफल थप तीव्र पारिनेछ।

