प्रधानमन्त्री निवास नजिकै राति छड्के अनुगमन, मन्त्री यादवले किन दिए कडा आदेश

Categories:

-

काठमाडौँ, साउन ५ — खानेपानी मन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतको कार्यलाई प्रभावकारी बनाउन गएराति छड्के अनुगमनमा निस्किए। मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्म मेलम्चीको पाइपलाइन बिछ्याइएको स्थानहरूमा निरीक्षण गरेका हुन्।

मन्त्री यादवले आयोजना कार्यान्वयन निर्देशनालय (PID) मार्फत भइरहेको पाइपलाइन निर्माण तथा परीक्षण कार्यको स्थलगत जानकारी लिएका थिए। उनले तत्काल पाइप परीक्षण कार्य सम्पन्न गरी मेलम्चीको पानी वितरण प्रक्रिया अघि बढाउन मातहत कर्मचारीलाई निर्देशन दिए।

बालुवाटार क्षेत्रका लागि बिछ्याइएको प्राइमरी पाइपलाइन—३१५ मिमि र २८० मिमि एचडीपीई—तेस्रो दिशात्मक ड्रिलिङ (HDD) प्रविधिबाट सफलतापूर्वक सम्पन्न भइसकेको छ। अनुगमनपछि मन्त्री यादवले जानकारी दिँदै भने, “बालुवाटार लगायतका क्षेत्रमा पाइपलाइन बिछ्याउने काम सफल भएको पाइयो। अब चाँडै मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएको छु।”

आयोजना प्रमुख लक्ष्मी उपाध्यायका अनुसार अहिले पाइपलाइनको दबाव परीक्षण (प्रेसर टेष्ट) अन्तिम चरणमा पुगेको छ। परीक्षण सफल भएपछि डिएमए H2, I3, I4 र I5 अन्तर्गतका बालुवाटार, नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरु गरिनेछ।

पानी वितरणपछि उक्त क्षेत्रमा करिब ३ हजार ५०० घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ। परियोजनाका प्रवन्धक अमित रञ्जितका अनुसार, उपत्यकावासीलाई शुद्ध, स्वच्छ तथा नियमित खानेपानी आपूर्ति गर्ने दीर्घकालीन लक्ष्य अनुसार यो आयोजना अगाडि बढाइएको हो।

सरकारको प्राथमिकतामा रहेको मेलम्ची खानेपानी आयोजनाको कामलाई थप तीव्रता दिइएको छ, जसले उपत्यकाको खानेपानी संकट समाधानमा ठुलो योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य