काठमाडौँ,५ साउन ।
टिप्पणी
नेकपा (एमाले) यति बेला एउटा क्लासिक त्रासमा छ—भित्रबाट उब्जिएको नेतृत्वको भय। र, त्यो भयको नाम हो: विद्या भण्डारी।
भर्खरै मात्र पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग च्यासलमा ‘वान टु वान’ भेट गरेपछि पूर्वराष्ट्रपति भण्डारीले छोटो तर निर्णायक वाक्य उच्चारण गरिन् — “सदस्यता त पहिल्यै नवीकरण भइसकेको हो।”
र, त्यो वाक्यले ‘बालुवाटार ब्रिगेड’ को सातो उडाइदियो।
पछिल्ला केही दिनयता एमालेभित्र एउटा सस्तो, तर कुटिल स्क्रिप्ट चलाइएको थियो — “भण्डारीको सदस्यता होल्डमा छ।” सन्देशको स्रोत? प्रचार विभागका प्रमुख राजेन्द्र गौतम, सचिवालय बैठकको हवाला, अनि सत्ता- क्याम्पमै बसेर झुटलाई खबर बनाउने टोली।
तर पोलिटब्युरो बैठकमा त यस्तो कुरा उठेकै रहेनछ! के यो संयोग मात्र हो कि बालुवाटारमै तयार पारिएको स्क्रिप्ट, भण्डारी निकट नेताहरूलाई चुप गराउन प्रोपोगान्डा बनेर मिडियामा फैलाइयो ?
चिमोट्ने कुरा त के हो भने — एमालेमा भित्रैबाट सत्ताको सुनियोजित ‘फियर क्याम्पेन’ चलाइएको छ। भण्डारीलाई नेतृत्वकै ‘खतरा’ देखेर ‘सदस्यता’ जस्तो निजी प्रक्रियालाई पनि हतियार बनाइएको छ। बालुवाटारले केही मिडियालाई खेलायो, केही ‘सञ्चारकर्मी’ हरूलाई सर्कुलर पठायो — र झुटो ‘होल्ड’को अभियान चलायो।
यही सिलसिलामा अध्यक्ष ओलीले विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा भण्डारीप्रति देखाएको तिक्तता पनि अनायास थिएन। त्यो आत्मालाप, भण्डारीको नेतृत्व क्षमतामाथिको शङ्का होइन, आगामी प्रतिस्पर्धाको डर थियो।
र, त्यसको अंशलाई ‘ट्याग लाइन’ बिना काटेर, क्लिप बनाएर, ‘भक्त मिडियाहरू’ मार्फत सर्कुलेट गर्नु? यही हो नियोजित प्रचार युद्ध।
खासमा, ओलीले सबलाई भनेका छन् — म नेतृत्वमा छैन भने तपाईँहरू कोही पनि छैन। र, भण्डारी? उहाँ अब त्यही ‘व्यवस्था’ को ठुलो अपवाद बन्ने सुरमा हुनुहुन्छ।
यसै कारण, भेट बालुवाटारमा हुनुपर्ने थियो, च्यासलमा सर्यो। किनभने बालुवाटारले चालेको खेलको भण्डाफोर च्यासलमै गर्नुपर्थ्यो। त्यो आँगन, पार्टी सदस्यताको प्रामाणिक मञ्च मात्र होइन — त्यो राजनीतिक सन्देशको नयाँ मोर्चा बन्यो।
‘सदस्यता होल्ड’ भन्दै टेबुल ठटाउनेहरूको झुट अब पोखिएको छ। र, भण्डारीले चुपचाप पार्टी कार्यालय पुगेर दिएको सन्देश स्पष्ट छ — “म फर्किसकेको छु।”
अब प्रश्न केवल यत्ति हो — के ओली तयार छन्?
वा, उनकै शैलीमा भन्ने हो भने — “यो खेल अब उल्टो दिशामा बग्न थालेको छ।”

