काठमाडौँ,४ असार । पूर्वराष्ट्रपति विद्या भण्डारी र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार च्यासलस्थित पार्टी मुख्यालयमा डेढ घण्टा लामो गोप्य वार्ता भएको छ। भण्डारी स्वयं एमाले कार्यालय पुगेर अध्यक्ष ओलीसँग संवाद गरेकी हुन्।
वार्ताका क्रममा अन्य कुनै नेता सहभागी थिएनन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेललगायत नेताहरुले भण्डारी र ओलीसँग फोटो खिचाए पनि वार्तामा उनीहरूलाई सहभागी हुन दिइएको थिएन।
एक वर्षअघि नवीकरण गराइएको एमालेको सदस्यता अझै पनि औपचारिक रूपमा पेण्डिङमै रहेको जानकारी पाएपछि भण्डारी ओलीसँग प्रत्यक्ष संवादका लागि च्यासल पुगेकी थिइन्। च्यासलबाट बाहिरिँदै गर्दा संचारकर्मीसँग छोटो कुराकानी गर्दै भण्डारीले “राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको” बताइन्। साथै उनले आफूले एमालेको सदस्यता पहिले नै नवीकरण गरिसकेको दाबी गरिन्।
पूर्वराष्ट्रपति भण्डारीले यसअघि नै सार्वजनिकरूपमा एमालेको सक्रिय राजनीतिमा फर्कने र आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने इच्छा व्यक्त गरेकी थिइन्। तर, अध्यक्ष ओलीले नेतृत्वका लागि ७० वर्षे उमेर सीमा हटाए पनि भण्डारीको पुनः प्रवेशमा सहजता देखाएका छैनन्। ओलीले शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा भण्डारीको सक्रियताको चाहनाबारे आफूले केन्द्रीय तहमा औपचारिक कुरा गर्ने बताएका थिए।
अब भण्डारी एमालेमा पुनः प्रवेश पाउने कि नपाउने भन्ने विषयमा साउन ५ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा औपचारिक निर्णय हुने बताइएको छ।

